काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायलाई अझ सुदृढ बनाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले महिला अधिकार र समानताको अभियानलाई थप प्रभावकारी बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले समाजमा अझै पनि धेरै महिला गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी तथा नेतृत्व तहमा सार्थक सहभागिताबाट वञ्चित रहेको उल्लेख गरिन्। महिलाप्रति अविश्वास र विभेदको मानसिकता पूर्ण रूपमा अन्त्य हुन नसकेको भन्दै उनले हिजो घरायसी कामकाजमा देखिएको विभेद आज विभिन्न कार्यस्थलमा फरक रूपले कायम रहेको बताइन्।
उनले अबको लक्ष्य केवल महिलाको संख्यात्मक सहभागिता बढाउनु मात्र नभई अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नु हुनुपर्ने स्पष्ट पारिन्।
सन्देशमा उनले शिक्षा विस्तार र बढ्दो जनचेतनाका कारण महिलाहरू आफ्ना अधिकारका लागि अझ दृढताका साथ अगाडि बढिरहेको उल्लेख गर्दै सबै महिलाको अवस्था भने समान नभएको यथार्थतर्फ पनि ध्यानाकर्षण गराइन्। समाजमा पछि परेका तथा विकासको मूलधारबाट वञ्चित समुदायका महिलाहरू अझ बढी चुनौती र उत्पीडन भोग्न बाध्य रहेको उनले बताइन्।
प्रधानमन्त्री कार्कीले विशेषगरी दलित महिला, कर्णालीका महिला, मधेसका महिला तथा अन्य सीमान्तकृत समुदायका महिलाहरूको आवाज राज्यको नीति निर्माण प्रक्रियामा अझ स्पष्ट र प्रभावकारी रूपमा प्रतिबिम्बित हुन आवश्यक रहेको धारणा व्यक्त गरिन्।
उनका अनुसार समानता, सशक्तीकरण र सामाजिक न्यायको आधारमा समतामूलक समाज निर्माण गर्नु आजको ऐतिहासिक आवश्यकता हो। यस्तो लक्ष्य हासिल गर्न राज्य मात्र होइन, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चार माध्यम तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विकास साझेदार सबैको साझा जिम्मेवारी रहने उनले उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गरेपछि मात्रै लोकतन्त्र वास्तविक रूपमा सुदृढ हुने र संविधानको मर्म पूर्ण रूपमा कार्यान्वयन हुने बताइन्। त्यसले मात्र समृद्ध, न्यायपूर्ण र समतामूलक नेपाल निर्माणको आधार तयार गर्ने उनको विश्वास छ।
अन्त्यमा उनले अन्तर्राष्ट्रिय महिला दिवसले सबैमा समानता, न्याय, समावेशिता र लोकतान्त्रिक चेतनालाई अझ सशक्त बनाउने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेकी छन्।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया