काठमाडौँ । जेनजी प्रदर्शनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। करिब पाँच महिनासम्म घटनाका विभिन्न पक्षबारे अनुसन्धान र जाँचबुझ गरेपछि आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्की समक्ष प्रतिवेदन पेश गरेको हो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन्।
प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका सदस्य शर्मा ले घटनामा संलग्न र जिम्मेवार ठहरिएका व्यक्तिहरूमाथि कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिए।
उनले भने, “जसले गल्ती गरेको छ, उसलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो। त्यसअनुसार कारबाहीको सिफारिस गरेका छौँ।”
शर्माका अनुसार आयोगले तयार पारेको प्रतिवेदन करिब ९ सय पृष्ठभन्दा बढीको रहेको छ भने त्यससँग सम्बन्धित विभिन्न अनुसूचीहरू पनि समावेश गरिएको छ।
आयोग स्रोतका अनुसार प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, जिल्ला सुरक्षा समितिका अध्यक्ष, गृहमन्त्री रमेश लेखक लगायत जिम्मेवार पदाधिकारीविरुद्ध फौजदारी मुद्दा दायर गर्न सिफारिस गरिएको छ।
सिफारिस कार्यान्वयन भएमा सम्बन्धित अधिकारीहरूमाथि मुलुकी अपराध संहिता–२०७४ अन्तर्गत पर्ने कसुरका आधारमा कानुनी प्रक्रिया अघि बढ्न सक्ने बताइएको छ।
आयोगले घटनामा भएका निर्णय, सुरक्षा संयन्त्रको भूमिका र आदेश–निर्देशनका पक्षसमेत अध्ययन गरेर जिम्मेवार ठहरिएका व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकारलाई सुझाव दिएको स्रोतले जनाएको छ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया