काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ जम्मा एक सिट जितेको छ । जुम्लाबाट ज्ञानेन्द्र शाहीले जित हासिल गर्दै पार्टीको संसदीय उपस्थिति जोगाएका छन् । अन्यत्र राप्रपाका उम्मेदवारहरू पराजित भएका छन् ।

अघिल्लो निर्वाचनमा प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले यो पटक झापा ३ बाट अध्यक्ष राजेन्द्र लिङ्देन, रुपन्देही ३ बाट गौरव बोहोरा, चितवन ३ बाट दीपक थापामगर, मकवानपुर १ बाट दीपक सिंह, नवलपरासी पश्चिम २ बाट ध्रुवबहादुर प्रधान लगायतका क्षेत्र गुमाएको छ । अधिकांश क्षेत्रमा रास्वपा, कांग्रेस, एमाले तथा अन्य दलका उम्मेदवारहरूले जितेका छन् ।

advertisement

राप्रपाको यो परिणाम निराशाजनक भए पनि ज्ञानेन्द्र शाहीको जुम्ला जितले पार्टीमा केही राहत मिलेको छ । यदि शाही पनि पराजित भएका भए राप्रपाको संसदमा उपस्थिति नै समाप्त हुन्थ्यो । अब समानुपातिक मतगणनाको परिणामले राप्रपाको भविष्य निर्धारण गर्नेछ ।

समानुपातिकतर्फ अहिलेसम्म ३७ लाख ४१ हजार ६७८ मत गणना हुँदा राप्रपाले १ लाख ३६ हजार ११ मत (३.६३ प्रतिशत) प्राप्त गरेको छ । राष्ट्रिय पार्टीको मान्यता कायम राख्न प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत आवश्यक पर्छ । शाहीको जितले पहिलो शर्त पूरा भएको छ भने समानुपातिकमा ३ प्रतिशत कटाउने क्रममा राप्रपा ‘सेफ जोन’ मा देखिएको छ ।

यदि थ्रेसहोल्ड कट्यो भने राप्रपाले समानुपातिकबाट थप ३–४ सांसद पठाउन सक्छ । यसो भएमा पार्टी संसदको पाँचौं ठूलो शक्तिका रूपमा रहनेछ । राप्रपाभन्दा अगाडि रास्वपा, कांग्रेस, एमाले र नेकपा रहनेछन् ।

राप्रपाले यो चुनावमा महत्वाकांक्षी लक्ष्य राखेको थियो । पार्टी निर्णायक शक्ति बन्ने र अध्यक्ष लिङ्देन प्रधानमन्त्री बन्ने दाबी प्रवक्ता मोहन श्रेष्ठले गरेका थिए । तर प्रत्यक्षमा एक सिट र समानुपातिकमा पनि संघर्षपूर्ण अवस्था छ । अब सबैको ध्यान समानुपातिक मतगणनामा केन्द्रित भएको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com