काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आन्दोलनका क्रममा दमन र हिंसात्मक गतिविधिमा संलग्न सबैलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको जनाएको छ।
आयोगका संयोजक पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आन्दोलनका क्रममा भएको दमनबारे गम्भीर निष्कर्षसहित सिफारिस गरिएको जानकारी दिए। उनका अनुसार भदौ २३ गते युवामाथि गोली चलाउन आदेश दिने व्यक्ति मात्र होइन, गोली नरोकी निरन्तर प्रयोग गर्न दिने जिम्मेवार अधिकारीहरूसमेत कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ।
त्यस्तै, भदौ २४ गते भएका घटनाहरूमा पनि दोषी देखिएका व्यक्तिहरूलाई कानुनी कारबाही गर्न प्रतिवेदनमा स्पष्ट सुझाव दिइएको उनले बताए।
कार्कीले आयोगले आफ्नो जिम्मेवारी पूरा गर्दै प्रतिवेदन सरकारलाई बुझाइसकेको उल्लेख गर्दै सरकारले त्यसलाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। देश, जनता तथा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको न्यायका लागि आयोगले निष्पक्ष रूपमा काम गरेको बताउँदै आफूहरू आफ्नो कार्यप्रति सन्तुष्ट रहेको उनले बताए।
उनले केही प्राविधिक काम बाँकी रहनुका साथै निर्वाचनको माहोलमा प्रतिवेदन सार्वजनिक गर्दा असर पर्न सक्ने भएकाले निर्वाचनपछि मात्रै सरकारलाई प्रतिवेदन बुझाइएको पनि स्पष्ट पारे।
संयोजक कार्कीले आयोगको सिफारिसअनुसार दोषीमाथि कारबाही हुन नसके जनआक्रोश पुनः भड्किन सक्ने भन्दै सरकारलाई त्यसतर्फ सचेत गराइएको जानकारी पनि दिए।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया