काठमाडौं। अमेरिकी गुप्तचर संस्था सीआईएले इरानमा जनविद्रोह भड्काउने उद्देश्यले कुर्दिस लडाकुहरूलाई हतियार उपलब्ध गराउने तयारी गरिरहेको सीएनएनले दाबी गरेको छ । ट्रम्प प्रशासनले इरानी विपक्षी समूह र इराकका कुर्दिस नेताहरूसँग सैन्य सहयोगबारे सक्रिय छलफल गरिरहेको समाचारमा उल्लेख छ ।
इरानी कुर्दिस सशस्त्र समूहका हजारौं लडाकुहरू इराक–इरान सीमा क्षेत्रमा, विशेष गरी इराकको कुर्दिस्तान क्षेत्रमा सक्रिय छन् । युद्ध सुरु भएदेखि नै यी समूहहरूले सार्वजनिक विज्ञप्ति जारी गर्दै सैन्य कारबाहीको संकेत दिएका छन् र इरानी सेनालाई विद्रोह गर्न आह्वान गरिरहेका छन् ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले भने कुर्दिस समूहहरूमाथि निरन्तर आक्रमण गरिरहेको छ । गत मंगलबार दर्जनौं ड्रोन प्रयोग गरी ती लडाकुहरूलाई निशाना बनाएको दाबी गरिएको छ ।
योजनासँग परिचित एक स्रोत र कुर्दिस्तान क्षेत्रीय सरकारका वरिष्ठ अधिकारीका अनुसार, इरानी कुर्दिस समूहहरूलाई सीआईएले दिँदै आएको सहयोग युद्ध सुरु हुनुभन्दा केही महिना अगाडि नै सुरु भएको थियो । एक वरिष्ठ इरानी कुर्दिस अधिकारीले सीएनएनलाई बताएअनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘डेमोक्र्याटिक पार्टी अफ इरानी कुर्दिस्तान’ (केडीपीआई) का अध्यक्ष मुस्तफा हिज्रीसँग मंगलबार नै कुराकानी गरेका थिए ।
आगामी केही दिनभित्रै पश्चिमी इरानमा हुने स्थलगत सैन्य कारबाहीमा इरानी कुर्दिस विपक्षी शक्तिहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । एक स्रोतले भने, “हाम्रो विचारमा अहिले हाम्रो लागि ठूलो अवसर छ ।” ती लडाकुहरूले यस अभियानमा अमेरिका र इजरायलको सहयोग रहने अपेक्षा गरेका छन् ।
एक्सियोसले पहिलो पटक सार्वजनिक गरेको समाचारअनुसार, ट्रम्पले गत आइतबार इराकका कुर्दिस नेताहरूसँग पनि टेलिफोन संवाद गरेका थिए । उक्त संवाद इरानमा जारी अमेरिकी सैन्य कारबाही र कुर्दहरूसँगको सहकार्यबारे केन्द्रित थियो । इरानी कुर्दिस समूहहरूलाई सशस्त्र बनाउन इराकका कुर्दहरूको समर्थन अनिवार्य हुने बताइएको छ ।
कुर्दिस्तान क्षेत्रीय सरकारका एक वरिष्ठ अधिकारीले भने, “यो अत्यन्तै खतरनाक छ, तर हामी के गर्न सक्छौं र ? हामी अमेरिकासँग प्रतिवाद गर्न सक्दैनौं । हामी निकै त्रसित छौं ।”
पूर्व अमेरिकी अधिकारी एलेक्स प्लिट्सासका अनुसार, अमेरिकाले कुर्दहरूलाई सशस्त्र बनाएर इरानी जनताद्वारा शासन उल्ट्याउने प्रक्रियालाई तीव्रता दिन खोजिरहेको छ । “इरानी जनता निशस्त्र छन् । सुरक्षा निकाय धराशायी नभएसम्म सत्ता कब्जा गर्न कठिन हुन्छ,” उनले भने ।
पूर्व अधिकारी जेन ग्याभिटोले भने, “यो कदमले इराकको सार्वभौमसत्तालाई कमजोर बनाउन सक्छ र जवाफदेहिता नभएका मिलिसियालाई सशक्त बनाउन सक्छ ।”
इजरायली सेनाले इराक–इरान सीमामा इरानी चौकीहरूमा आक्रमण गरिरहेको छ । यो आंशिक रूपमा उत्तर–पश्चिमी इरानमा कुर्दिस सेनाको प्रवेशका लागि आधार तयार गर्न गरिएको हो ।
इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार कासिम अल–आराजीले इराकले कुनै समूहलाई इरानी सीमाभित्र छिर्न वा इराकी भूमिबाट आतंकवादी गतिविधि सञ्चालन गर्न अनुमति नदिने बताएका छन् ।
सीआईएले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । रक्षा सचिव पिट हेगसेथले भने, “हाम्रा उद्देश्यहरू कुनै खास सशस्त्र समूहलाई हतियार उपलब्ध गराउनेमा आधारित छैनन् ।”
कुर्दहरू र अमेरिकाको लामो इतिहास छ । आईएसआईएसविरुद्धको अभियानमा कुर्दहरूमाथि ठूलो भरोसा गरिएको थियो । तर ट्रम्पको पहिलो कार्यकालमा सिरियाबाट सेना फिर्ता गर्दा कुर्दहरूमा मोहभङ्ग भएको थियो ।
कुर्दहरूले अमेरिकी सहयोगको बदलामा इराकको कुर्दिस्तान क्षेत्रलाई पूर्ण स्वतन्त्रता दिने आशा राखेका थिए, तर त्यो पूरा भएन । अहिले पनि कुर्दहरूमा ‘फेरि एक्लै पर्ने’ डर कायम छ ।
यो योजनाले इरानमा ठूलो स्तरको आन्तरिक विद्रोह निम्त्याउने सम्भावना छ । मध्यपूर्वको यो द्वन्द्व छैटौं दिनमा पुगेको छ । खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा जोखिममा परेको छ । नेपाल सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया