काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको जनाएको छ। आयोगका अनुसार हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रको मतगणना अझै जारी छ।

आयोगले भोलि (सोमबार) दिउँसोसम्म सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरेको छ। समानुपातिकतर्फ खसेको कुल १ करोड ९ लाख मतमध्ये हालसम्म करिब ५० लाख अर्थात् करिब ४६ प्रतिशत मतगणना सम्पन्न भइसकेको आयोगले जनाएको छ।

advertisement

आयोगका अनुसार २७ फागुन बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना सक्ने अपेक्षा गरिएको छ। समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा सम्बन्धित दलबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गरिनेछ।

यसपछि आयोगले समानुपातिक क्लस्टर अनुसार आवश्यक प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचित हुने सांसदहरूको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ। दलहरूले बन्दसूचीभित्रबाट नाम सिफारिस गरेपछि ती नामहरू समावेशी क्लस्टर अनुसार मिलेको–नमिलेको जाँच गरी समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम अन्तिम रूपमा तय गरी प्रमाणपत्र उपलब्ध गराइने आयोगले जनाएको छ।

आयोगले ५ चैतभित्र यी सबै प्रक्रिया सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी विज्ञप्तिमार्फत दिएको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com