काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा(एमालेका) अर्जुनकुमार कार्कीको अग्रता जारी छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार अर्जुनकुमार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
नेकपा (एमाले)का उम्मेदवार अर्जुनकुमार कार्कीले आफ्नो अग्रतालाई कायमै राखेका छन्। हालसम्मको मतगणनामा अर्जुनकुमार कार्कीले ६ हजार १४९ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले पाँच हजार ३८७ मतले पछ्याइरहेका छन्। एमालेका कार्की र रास्वपा का शेर्पाबीचको ७६३ मतान्तर रहेको छ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले तीन हजार ६०७ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन्। श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले दुई हजार ८१७ मतका साथ चौथो स्थानमा रहेकी छन् भने नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले ६४४ मत प्राप्त गरेकी छन्।
राष्ट्रिय परिर्वतन पार्टीका घनश्याम वालिङ राईले २६९ मत प्राप्त गरेका छन्। एक मात्रै निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा हालसम्म २० हजार ३८९ मतगणना भइसकेको छ। अहिलेसम्म मादी र धर्मदेवी नगरपालिका गणना भइसकेको छ । मतगणना जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसोदेखि जारी छ।
गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ। मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन् ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया