काठमाडाैं । भोजपुर र सुनसरी-१ गरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन सिट जित्यो । समानुपातिक मतका आधारमा श्रम संस्कृति अब राष्ट्रिय दल बन्ने देखिन्छ ।
धेरैले शंकाको दृष्टिले हेरे पनि राष्ट्रिय दल बन्ने परिस्थिति निकै पहिले नै बनेको खोटाङबाट पार्टीका लागि खाता खोलेका आरेन राई बताउँछन् । धेरैले श्रम संस्कृति पार्टीलाई जातिवादी पार्टी भनेर खुम्च्याउन खोजेको समेत उनको भनाइ छ ।
राईले भने, ‘कहिले कोसी प्रदेश केन्द्रित पार्टी भनेको छ कहिले जातिवादी पार्टी भनेको छ । जसको दिमाग नै जातिवादी छ, उसले त्यही देख्छ । हाम्रो पार्टी राष्ट्रिय पार्टी पार्टी भइसक्यो । देशैभर फैलिएको छ ।’
खोटाङमा पार्टीले जित हासिल गर्नुको पछाडि पार्टीको भिजन प्रमुख रहेको बताए ।
माटोमा भोट दिएकोमा जनतालाई मुरीमुरी धन्यवाद दिँदै उनले भने, ‘इमानको साथ काम गर्ने शक्ति मिलोस् । हिजो नेताले मात्रै जितेका थिए, यसपटक सिंगै खोटाङ्गे जनताले जिते ।’
अब सरकारमा जाने कि नजाने भन्नेबारे भने पार्टीभित्र छलफल गरेपछि निर्णय लिने उनले बताए ।
उनले भने, ‘सायद प्रतिपक्षमै बसिन्छ ।’
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया