काठमाडौं। प्रतिनिधि सभा निर्वाचनमा लज्जास्पल पराजय व्यहोरेको नेकपा एमालेभित्र अध्यक्ष ओलीलाई पदबाट हटाउने तयारी सुरु भएको छ । पार्टीभित्र सकेसम्म उनलाई सहज तरिकाले राजीनामा दिएर नेतृत्व छाड्न लगाउने तयारी छ । यदि उनले राजीनामा दिएर अध्यक्ष छाड्न तयार नभएमा उनलाई विधानबमोजिम पदबाट हटाउने प्रक्रिया सुरु हुन सक्नेछ ।

स्रोतका अनुसार ओलीलाई पदबाट हटाउनको लागि उपाध्यक्ष विष्णु पौडेल नै अग्रसर भएका छन् । पार्टीको मंसिरमा भएको महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन प्रमुख भूमिका खेलेका उपाध्यक्ष पौडेलले आफूले चुनाब हारेलगत्तै पार्टीमा पुनर्गठनको लागि अग्रसरता लिने घोषणा गरेका थिए ।

advertisement

पराजित भएपछि सामाजिक संजालमा पौडेलले लेखेका थिए ‘बिगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाई रुपनान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

स्रोतका अनुसार पार्टीका धेरै पदाधिकारीहरु आवश्यक परे नेतृत्व परिवर्तन गर्ने पक्षमा तयार भएका छन् । केही पदाधिकारीहरु भने नेतृत्व परिवर्तनको विपक्षमा पनि छन् । पौडेलले नेतृत्व परिवर्तनसहित अन्य एजेण्डाहरुमा पार्टीका पदाधिकारीहरुसँग एकसरो छलफल पनि गरेका छन् । महासचिव शंकर पोखरेल, सचिवहरू भानुभक्त ढकाल, महेश बस्नेत, डा. राजन भट्टराई भने पौडेलको प्रस्ताव स्वीकार गर्न तयार भएका छैनन् । उनीहरु ओलीकै निरन्तरता चाहन्छन् ।

केही पदाधिकारी ओलीलाई नै निरन्तरता दिने पक्षमा र अरु उनलाई नेतृत्वबाट हटाउने पक्षमा भएपछि अहिले एमालेभित्र २ महिनाअघिको नेपाली कांग्रेसभित्रको जस्तो स्थिति देखिएको स्रोत बताउँछ । नेतृत्वकै कारण चुनाबमा पार्टी पराजित भएको मान्ने पदाधिकारीहरु अब कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले समातेकै बाटो समाउने पक्षमा रहेको समेत स्रोतको दावी छ ।

‘सकेसम्म अध्यक्षलाई फकाएर नेतृत्व छाड्न राजी गराउने प्रयास हुने देखिन्छ’ स्रोत भन्छ ‘यसो गर्दा पार्टीले वर्तमान अध्यक्षलाई सम्मान र संरक्षण समेत गर्ने वातावरण बन्छ ।’ तर, यदि अध्यक्ष नेतृत्व छोड्न तयार नभए विशेष महाधिवेशनबाटै भए पनि नेतृत्व परिवर्तनको प्रक्रिया अगाडि बढ्ने स्थिति बनेको स्रोतको दावी छ ।

एमालेको विधानअनुसार ठोस कार्यसूची र उचित कारण देखाएर बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखितरूपमा माग गरेको मितिले ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने उल्लेख छ । ओलीले आफू अध्यक्ष हुनकै लागि पार्टीको विधानमा ७० वर्षे उमेरहद हटाउने, दुई कार्यकालको व्यवस्था हटाउनेदेखि विद्या भण्डारीलाई पार्टीमा फर्किन नदिनेजस्ता काम गरेपछि पार्टीभित्र उनीसँग चरम असन्तुष्टि रहेको समेत बताइन्छ ।

‘महाधिवेशनमा आफूविरुद्ध चुनाब लड्नेहरुको जिम्मेवारी खोस्नेदेखि त्यो पक्षका नेताहरुलाई चुनाबमा टिकट नदिनेसम्मका कार्यले अध्यक्षको लोकप्रियता निकै घटेको छ र असन्तुष्टि बढेको छ’ स्रोत भन्छ ‘विशेष महाधिवेशन नै गर्नुपर्ने स्थिति आयो भने बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखितरूपमा माग गर्ने स्थिति बन्छ र बहुमत पनि पुग्छ ।’

रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भएर पराजितसमेत भएका पौडेलले आज विज्ञप्तिमार्पत विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैँलाई रुपान्तरण गर्न आग्रह गरेका छन्।

उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही क्षेत्र नं २ का मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु भनेका छन्।

उनले यस निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्ने तथा रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशासमेत गरेका छन्।

“यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्ने र आआफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्ने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यत्तल गर्दछु”, उनले भनेका छन्।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com