काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ६ का नवनिर्वाचित सांसद शिशिर खनालले सुशासन, रोजगारी सिर्जना र उद्यमशील नेपाललाई आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन्।
सोमबार तारकेश्वर नगरपालिका–९ मा आयोजना गरिएको ‘टोलटोलमा सांसद कार्यक्रम’ मा बोल्दै खनालले भने, ‘हाम्रो पहिलो प्राथमिकता सुशासन र रोजगारी हो। स्थानीय तहसँग मिलेर जनताको समस्या समाधानमा निरन्तर खटिनेछौँ।’
पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका खनालले स्थानीय तहमा रास्वपाको सरकार नभएकाले समन्वय आवश्यक रहेको र यसमा आफू निरन्तर सक्रिय रहने बताए। उनले काठमाडौं क्षेत्र नम्बर ६ मा विशेष गरी खानेपानीको समस्या रहेको उल्लेख गर्दै यसलाई पूरा गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताए।
सांसद खनालले जनताको समस्या र सार्वजनिक सरोकारका विषयहरू संसद्मा निरन्तर अघि बढाइने पनि स्पष्ट पारे। आगामी पाँच वर्ष देश रूपान्तरण गर्ने अभियानमा जनताले रास्वपालाई दिएको विश्वास र अपेक्षा खेर नफाल्ने उनको प्रतिबद्धता छ।
उनले काठमाडौं क्षेत्र नम्बर ६ मा देखिएका समस्या समाधान गर्न निरन्तर जनतासँग संवाद र सम्पर्कमा रहने पनि बताए।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया