किएभ। रूस र युक्रेनबिचको युद्ध अब केवल सैनिकहरूको आमनेसामने लडाइँमा मात्र सीमित रहेन, यो उच्च प्रविधियुक्त ‘हाइटेक’ द्वन्द्वमा परिणत भएको छ।
आकाशमा जासुसी र आत्मघाती ड्रोनहरूको दबदबापछि अब युक्रेनले युद्धमैदानमा सशस्त्र रोबोटहरू (अनक्रुड ग्राउन्ड भेहिकल्स – यूजीभीएस) को विशाल फौज उतार्ने तयारी गरेको हो।
युद्धमैदानमा यी मानवरहित रोबोटहरूले रुसी आक्रमणलाई विफल पार्नेदेखि शत्रु सैनिकहरूलाई बन्दी बनाउनेसम्मका सफलता हात पारेका छन्। युक्रेनी सेनाको के–२ ब्रिगेडका ओलेक्सान्द्र अफनास्येभका अनुसार संसारमै पहिलो पटक युक्रेनले रोबोटहरूको छुट्टै गण तयार पारेको छ। यी रोबोटहरूमा कलाश्निकोभ मेसिनगन जडान गरिएको छ, जसले मानिस जान डराउने स्थानमा पुगेर निर्धक्क गोली बर्साउँछन्।
ब्याट्रीबाट चल्ने यी रोबोटहरूले विस्फोटक पदार्थ बोकेर शत्रुको ठेगाना ध्वस्त पार्ने काम पनि गरिरहेका छन्। हवाई ड्रोनको तुलनामा यी जमिनमा चल्ने रोबोटहरूले आवाज ननिकाल्ने हुनाले शत्रुलाई आक्रमणको सुइँको पाउन मुस्किल हुन्छ। युक्रेनी अधिकारीहरूका अनुसार केही स्थानमा त मानिसको उपस्थिति बिना नै रूसी र युक्रेनी ‘किलर रोबोट’ हरूबिच सिधै भिडन्त समेत भइसकेको छ।
यद्यपि, यी रोबोटहरूले गर्ने आक्रमणको अन्तिम निर्णय भने सुरक्षित स्थानमा बसेका अपरेटरले नै गर्छन्। अन्तर्राष्ट्रिय मानवीय कानुन र नैतिकताका कारण रोबोटलाई आफैँ गोली चलाउने पूर्ण अधिकार दिइएको छैन, ताकि सर्वसाधारण वा गलत व्यक्तिमाथि आक्रमण नहोस्। हाल यी रोबोटहरू सामग्री ढुवानी र घाइतेको उद्धारमा बढी प्रयोग भए पनि आगामी दिनमा यसको भूमिका अझै बढ्ने पूर्व सेनाप्रमुख भ्यालेरी जालुज्नीले बताएका छन्।
युक्रेनले जनशक्ति अभाव झेलिरहेका बेला सैनिकको ज्यान जोगाउन रोबोटिक प्रविधि वरदान सावित भएको छ। ‘हामी रोबोट गुमाउन सक्छौँ तर दक्ष सैनिक गुमाउन सक्दैनौँ,’ मेजर अफनास्येभ भन्छन्।
यता रूसले पनि ‘कुरियर’ र ‘लिगुस्का’ जस्ता आफ्नै घातक रोबोटहरू विकास गरेर युद्धमा प्रयोग गरिरहेको छ। युद्धमैदानमा दुवै पक्षका सशस्त्र रोबोटहरूको बढ्दो संख्याले भविष्यमा मानवरहित आक्रमणको नयाँ युग सुरु हुने संकेत गरेको छ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार












प्रतिक्रिया