काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको दलको पत्रको आधारमा निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा रोकेको जनाएको छ । धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेको आयोगले मत परिणाम पूरा भइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा पत्रका आधारमा मत परिणाम सार्वजनिक नगरेको हो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दलको लेटर हेडमा निर्वाचन आयोगलाई धनुषा क्षेत्र नम्बर १ को मत परिणाम सार्वजनिक गर्न रोकी पाउँ भनी निवेदन दिएको आधारमा रोकिएको बताए । दलको पत्रको आधारमा त्यसरी निर्वाचन आयोगले मत परिणाम रोक्न मिल्छ भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त भण्डारीले दलको तर्फबाट अदालतमा मुद्दा परेको जानकारी आएको र मत परिणाम तत्काल सार्वजनिक नगर्नु भनेकाले रोकिएको बताए ।
‘निर्वाचन आयोगमा कुनै पनि दलले उजुरी र निवेदन दिन पाउँछन् सो पत्रको हामीले कार्यान्वयन गरेका हौँ,’ भण्डारीले भने, ‘दलले यो विषय अहिले अदालतमा विचाराधीन छ तपाईँहरूलाई विपक्षी बनाएर आयोगमा निवेदन दिएका छौँ भनेर पत्र आएपछि नरोकेर के गर्नु ?’ उनले प्रश्न गरे । ‘अझ आयोगले आफ्नो निर्णयका विरुद्ध उजुरी परेको छ कि छैन भनेर आफैँले बुझ्नुपर्ने हो रास्वपाबाट पत्रमार्फत जानकारी आएपछि मत परिणाम सार्वजनिक गर्न रोकेका हौँ । अहिले अदालतमा मुद्दामा बहस भइरहेको छ, जे निर्णय आउँछ त्यही अनुसार हामी अघि बढ्छौँ’ भण्डारीले भने ।
निर्वाचन आयोगका कानुन तथा राजनीतिक महाशाखाका प्रमुख यज्ञ भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रका आधारमा धनुषा क्षेत्र नम्बर १ को मत परिणाम सार्वजनिक गर्ने दाबी गरे ।
‘हामीले धनुषा–१ का रास्वपाको उम्मेदवार खारेज गरेपछि दलबाटै निर्वाचन आयोगलाई अदालतमा मुद्दा रहेकाले तत्काल मत परिणाम सार्वजनिक नगर्न भनेर पत्र आयो’ भट्टराईले भने, ‘रास्वपाको पत्रकै आधारमा हामीले मत परिणाम सार्वजनिक नगरेका हौँ । अदालतबाट मत परिणाम सार्वजनिक नगर्न भनेर कुनै पत्र नआएपनि पेसी सूची हेर्दा मुद्दा रहेको देखेपछि हामीले मत परिणाम रोक्यौँ’ उनले भने, ‘अब सर्वोच्च अदालतबाट जे निर्णय आउँछ त्यही अनुसार निर्णयमा पुग्छौँ ।’
आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।
सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउनुहुन भन्दै पत्र सार्वजनिक भएको थियो ।
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई सोको जानकारी आयोगसमक्ष दिन प्रदेश निर्वाचन कार्यालयलाई बोधार्थको पत्र पठाइएको निर्वाचन आयोगले जानकारी गराएको थियो ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार












प्रतिक्रिया