काठमाडौं। वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ पछिल्लो तथ्याङ्कअनुसार नेपालको राजधानी काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ ।
पछिल्लो अपडेटअनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क १८४ पुगेको छ, जुन जनस्वास्थ्यका हिसाबले निकै ‘अस्वस्थ’ मानिन्छ । आज काठमाडौँ उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ भने सर्वसाधारणले प्रत्यक्ष रूपमा प्रदूषणको महसुस गरिरहेका छन् । मानिसहरूले आँखा पोल्ने, घाँटी चिलाउने र श्वासप्रश्वासमा असहजता हुने देखिन्छ ।
काठमाडौँपछि बङ्गलादेशको ढाका १७० एक्यूआईका साथ दोस्रो र भारतको कोलकाता १६९ एक्यूआईका साथ तेस्रो स्थानमा रहेका छन् । बढ्दो सवारी साधनको चाप, सडक विस्तारका क्रममा उड्ने धुलो र पछिल्लो समय देशका विभिन्न भागमा लागिरहेको वन डढेलोका कारण काठमाडौँको हावा विषाक्त बन्दै गएको विज्ञहरूको भनाइ छ ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा र पहिलेदेखि नै दम वा मुटुको समस्या भएका व्यक्तिहरूका लागि यो अवस्था निकै जोखिमपूर्ण रहेको चिकित्सकहरूको भनाइ छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया