काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसारको नतिजा हासिल गर्न नसकेपछि नेपाली कांग्रेसभित्र गम्भीर आत्मसमिक्षा सुरु भएको छ । यही सन्दर्भमा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच महत्वपूर्ण छलफल भएको छ ।

स्रोतका अनुसार नयाँ बानेश्वरमा बेलुकीबाट सुरु भएको दुई नेताबीचको भेटवार्ता रातिसम्म जारी थियो । छलफलका क्रममा सभापति थापाले पार्टीले कमजोर नतिजा बेहोरेको अवस्थालाई आफूले नैतिक रूपमा लिनुपर्ने भन्दै पदबाट राजीनामा दिने तयारी व्यक्त गरेका छन् ।

advertisement

थापाले पार्टीको हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने धारणा राख्दै सभापति पदबाट अलग हुनु उपयुक्त हुने संकेत गरेका बताइएको छ । “पार्टीको पराजयको जिम्मेवारी म स्वयंले लिनुपर्छ, त्यसैले पद छाड्नु नै उचित हुन्छ,” थापाले छलफलमा धारणा राखेको उपसभापति शर्मा निकट स्रोतले जनाएको छ ।

यद्यपि उपसभापति शर्माले भने तत्काल राजीनामा नदिन सभापति थापालाई सुझाव दिएका छन् । उनले निर्वाचन परिणामलाई केवल कुनै एक व्यक्तिको कमजोरीका रूपमा नभई समग्र राजनीतिक परिस्थिति र पार्टीको सामूहिक अवस्थासँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

शर्माले कांग्रेसको पराजयलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने उल्लेख गर्दै त्यसको जिम्मेवारी कुनै एक नेता वा कार्यसमितिमाथि मात्र थोपर्नु उचित नहुने धारणा राखेका छन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com