काठमाडौं । प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेस ले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ।

प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेस ले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ। कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थान हासिल गरेको छ।

advertisement

यसैगरी नेकपा (एमाले)ले एक लाख २० हजार ८६३ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक लाख सात हजार १०१ मत ल्याएको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ। नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत प्राप्त गरेको छ। कर्णालीबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार हजार ६७५ मत प्राप्त गरेको छ।

कर्णालीभर ९० उम्मेदवारको जमानत जफत

प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ।

प्रदेशभर जम्मा १३८ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये ९० जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए।

जसअन्तर्गत सुर्खेतका क्षेत्र नम्बर १ मा १३ उम्मेदवारमध्ये १० जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर २ मा १७ उम्मेदवार रहेकामा १४ उम्मेदवारको जमानत जफत भएको छ। यस्तै, दैलेख क्षेत्र नम्बर ६ जना तथा क्षेत्र नम्बर २ मा सात जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै, जाजरकोटका आठ, सल्यानमा १०, रुकुम पश्चिममा नौ, कालीकोटमा छ, जुम्लामा छ, मुगुमा चार, डोल्पामा ६ जना र हुम्लामा चार उम्मेदवारको जमानत जफत भएको छ। छत्तीस उम्मेदवारले १०० मतसमेत ल्याउन सकेनन्। कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको सङ्ख्या धेरै छ। दश जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५०० रहेको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com