मैले २०८२ साल फागुन २१ गतेको चुनावका लागि आफ्नो मताधिकार प्रयोग गर्न काठमाडौबाट ओखलढुंगा जाने निर्णय गर्दा यो केवल एउटा यात्रा मात्र थिएन, मेरो नागरिक कर्तव्यको पालना थियो। तर मेरो यो निर्णयसँगै जोडिएको एउटा सानो सामाजिक पक्षले मलाई गहिरो गरी झस्कायो। जब मैले चार वर्षकी छोरीलाई उसको बुवासँग छोडेर घरबाट निस्किए र फेसबुकमा “गन्तव्य ओखलढुंगा तर्फ” भनेर एउटा सामान्य जानकारी साझा गरे, त्यसको दुई मिनेटमै मेरो म्यासेन्जरमा प्रश्नहरूको बाढी आयो। ती सन्देशहरू मेरो यात्राको शुभकामनाका लागि थिएनन्, बरु “नानीलाई को सँग छोड्नुभयो?” र “छोड्न कसरी सक्नु भयो?” भन्ने जिज्ञासा र संशयले भरिएका थिए। जब मैले “उसको बुवासँग छिन्” भनेर जवाफ दिए, समाजको प्रतिक्रिया झन् अनौठो देखियो। कसैले ज्वाइलाई “बिचरा” भन्दै सहानुभूति प्रकट गरे त कसैले मलाई “भाग्यमानी” भएको बिल्ला भिराइदिए। आफ्नै सन्तानलाई बुवाले सम्हाल्नुलाई कुनै ठूलो परोपकार वा त्यागको रूपमा हेरिनुले हाम्रो सामाजिक चेतनाको वास्तविक ऐना देखाइदिएको छ।
यो अनुभवले के स्पष्ट पार्छ भने, हाम्रो समाजमा मातृत्वलाई एउटा अनिवार्य “प्राकृतिक कर्तव्य” मानिन्छ भने पितृत्वलाई केवल एउटा “सहायक भूमिका” मा सीमित राखिन्छ। एउटी आमाले आफ्नो राजनीतिक वा सामाजिक हक प्रयोग गर्न घरबाहिर निस्कदा उनलाई “बच्चा छोडेर हिड्ने” एउटा अपराधी जस्तो महसुस गराउने सूक्ष्म प्रयास गरिन्छ। बुवा र छोरी सँगै बस्नु एउटा स्वाभाविक पारिवारिक अवस्था हुनुपर्नेमा त्यसलाई “बिचरा” र “गाह्रो” कामको रूपमा चित्रण गरिनुले पितृसत्तात्मक सोचको जरा कति गहिरो छ भन्ने देखाउँछ। जब समाजले बुवालाई सहानुभूति दिन्छ, उसले अप्रत्यक्ष रूपमा पुरुषलाई घर भित्रको जिम्मेवारीबाट अलग राख्नुपर्छ भन्ने धारणालाई नै मलजल गरिरहेको हुन्छ। यसले गर्दा महिलाहरू जतिसुकै शिक्षित र आधुनिक रूपमा स्वतन्त्र भए पनि उनीहरू माथि एउटा अदृश्य “नैतिक बोझ” सधै थोपरिने गरिन्छ, जसले उनीहरूको व्यावसायिक र व्यक्तिगत वृद्धिलाई रोकिरहेको हुन्छ।
नेपालको संविधानले महिला र पुरुषलाई समान अधिकार दिएको छ र हामी समानताका कुरामा गर्व गर्छौ तर मेरो ओखलढुंगाको यात्रामा आएका ती सन्देशहरूले संविधानको पाना र हाम्रो व्यवहार बीचको ठूलो खाडललाई छर्लङ्ग पारिदिएका छन्। साक्षरता दर बढ्नु र चेतना बढ्नु दुई फरक कुरा रहेछन् भन्ने कुरा यसले पुष्टि गर्छ। शिक्षित भनिएका व्यक्तिहरूले समेत बुवालाई बच्चा हेर्न “अक्षम” जस्तो ठान्नु र आमालाई सधै सन्तानको चौघेरा भित्र मात्र देख्न चाहनुले हाम्रो सामाजिक विकासको गतिलाई गिज्याइरहेको छ। पुरुषले महिनौसम्म घरबाहिर रहँदा कसैले “छोराछोरीलाई कसरी छोड्नु भयो?” भनेर सोध्दैन, तर महिलाका लागि भने हरेक पाइलामा यस्ता प्रश्नहरू तेर्सिन्छन्। यो विभेदपूर्ण व्यवहारले महिलालाई केवल एउटा “केयरगिभर” वा सुसारेको रूपमा मात्र स्वीकार गर्ने तर उसको नागरिक र स्वतन्त्र व्यक्तित्वलाई अस्वीकार गर्ने गरेको देखिन्छ।
अझ दुःख लाग्दो कुरा त के छ भने, मलाई यस्ता प्रश्नहरू सोध्ने र सीमित गर्ने प्रयास गर्नेमा धेरै पटक महिलाहरू नै अगाडि थिए। यसले के देखाउँछ भने पितृसत्तात्मक सोच केवल पुरुषको दिमागमा मात्र छैन, बरु यो महिलाहरूले पनि अन्जानमै आत्मसात् गरिसकेका छन्। वर्षौदेखिको संस्कारले गर्दा धेरै महिलाहरूले आफैलाई र अर्को महिलालाई त्यही विभेदकारी चस्माले हेर्न थालेका छन्। जब एउटी महिलाले अर्की महिलालाई “नानी कसरी छोड्न सकेको?” भनेर सोध्छिन्, उनले आफू माथि लादिएको पीडा र बन्धनलाई नै अर्को पुस्तामा हस्तान्तरण गरिरहेकी हुन्छिन्। यो “मदर गिल्ट” (आमा हुनुको हीनताबोध) सिर्जना गर्ने सामाजिक संयन्त्र यति बलियो छ कि, यसले महिलालाई घरबाहिर निस्कदा सधै मानसिक दबाबमा राख्छ। त्यसैले, सशक्तीकरणको लडाइ घर बाहिरको संसारसँग मात्र होइन, घर भित्रका यस्ता साना लाग्ने तर गहिरा सोचहरूसँग पनि लड्नु पर्ने अवस्था छ।
धर्म र संस्कृतिको नाममा पनि यस्ता विभेदहरूलाई जोगाइ राख्ने प्रयास भएको पाइन्छ। शास्त्रहरूले महिला र पुरुषमा भेदभाव नगरे पनि तिनका व्याख्या गर्नेहरूले सधै आमालाई “त्याग र सेवाकी प्रतिमूर्ति” मात्र बनाएर प्रस्तुत गरे। मातृत्वलाई यति धेरै महिमाकरण गरियो कि, आमाले आफ्ना रहर, करियर र अधिकारहरू त्याग्नु नै उसको महानता मानिन थालियो। यही सोचका कारण आज पनि बुवाले बच्चाको खानपान वा स्वास्थ्यको चिन्ता गर्दा समाजले त्यसलाई अनौठो मान्छ। यदि बुवाले बच्चाको डायपर फेर्छ वा उसलाई खाना खुवाउँछ भने त्यो उसको स्वाभाविक जिम्मेवारी हो, तर हाम्रो समाजले यसलाई एउटा ठूलो उत्सव जस्तै मानेर “बिचरा ज्वाइ” भन्न पुग्छ। यो धार्मिक र सांस्कृतिक लेपनले गर्दा नै समानताको मुद्दा केवल भाषण र कागजमा मात्र सीमित हुन पुगेको छ र व्यवहारमा आउन सकेको छैन।
यस्तो विभेदकारी सोचले समाजमा गम्भीर समस्याहरू निम्त्याइ रहेको छ। पहिलो कुरा, यसले पुरुषलाई आफ्नो सन्तानसँगको भावनात्मक सामीप्यताबाट टाढा राख्छ, किनकि उसलाई बच्चा सम्हाल्न “अक्षम” को रूपमा चित्रण गरिन्छ। दोस्रो, यसले श्रम बजार र सार्वजनिक जीवनमा महिलाको सहभागितालाई खुम्च्याउँछ। जबसम्म बच्चा हुर्काउने जिम्मेवारीलाई साझा दायित्व मानिदैन, तबसम्म महिलाहरूले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न पाउँदैनन्। यसले राष्ट्रको आधुनिक विकासमा आधा जनसंख्याको योगदानलाई अवरुद्ध पारिरहेको छ। जब एउटी आमालाई सन्तानको चिन्ताले सधै पिरोल्ने वातावरण समाजले बनाइदिन्छ, तब उसले आफ्नो पेशागत जिम्मेवारीमा शतप्रतिशत ध्यान दिन सक्दिन। यो व्यक्तिगत समस्या मात्र होइन, एउटा गम्भीर सामाजिक र मानवअधिकारको मुद्दा पनि हो।
अब हामीले समाजमा प्रश्न गर्ने शैलीलाई बदल्न ढिला भइसकेको छ। “बच्चा कसले सम्हाल्यो?” भनेर अचम्म मान्ने समय अब रहेन। बरु “आमा र बुवाले कसरी जिम्मेवारी बाँडिरहेका छन्?” भनेर बुझ्ने र त्यसलाई सराहना गर्ने समय आएको छ। सुधारको सुरुवात घरको दैलो भित्रबाटै हुनुपर्छ। हामीले हाम्रा छोराहरूलाई सानैदेखि घरधन्दा र हेरचाहका कामहरू पुरुषको पनि कर्तव्य हो भनेर सिकाउनुपर्छ। जब पुरुषहरूले बच्चा सम्हाल्नुलाई “मद्दत” होइन, “साझा दायित्व” को रूपमा गर्वका साथ स्वीकार गर्छन्, तब मात्र समाजको नजर बदलिनेछ। सञ्चार माध्यम र शैक्षिक पाठ्यक्रमले पनि बुवाहरूले बच्चा हुर्काइरहेका र घरको काम गरिरहेका सकारात्मक उदाहरणहरूलाई बढी भन्दा बढी प्रस्तुत गर्नुपर्छ। जब समाजले बुवाको काखमा रहेको बच्चालाई देख्दा “बिचरा” भन्न छाडेर त्यसलाई “सुन्दर सहकार्य” मान्न थाल्छ, तब मात्र वास्तविक समानताको जग बस्नेछ।
निष्कर्षमा भन्नुपर्दा, मेरो ओखलढुंगाको यात्राले मलाई के सिकायो भने समानता कुनै नारा वा कानुनमा मात्र होइन, बरु घर भित्रको जिम्मेवारी बाँडफाँडमा लुकेको हुन्छ। छोरीलाई बुवासँग छोडेर जाँदा आउने प्रश्नहरूले मलाई कमजोर बनाउनुको सट्टा झन् सचेत बनाएका छन्। साझा जिम्मेवारी बाँडेर सन्तान हुर्काइरहेका परिवारहरू नै आजको सभ्य समाजका मेरुदण्ड हुन्। जब घर भित्र जिम्मेवारीको बराबरी बाँडफाँड हुन्छ, तब मात्र एउटी महिला निसंकोच भएर आफ्नो मताधिकार प्रयोग गर्न वा आफ्नो गन्तव्य तर्फ पाइला चाल्न सक्छिन्। बालबच्चाको हेरचाह बाबुले गर्दा कसैले सहानुभूति दिनु पर्दैन, बरु त्यो एउटा न्यायपूर्ण र समतामूलक समाज निर्माणको पहिलो पाइला हो। अबको पुस्ताले आमालाई “कर्तव्य” को भारी र बुवालाई “बिचरा” को बिल्लाबाट मुक्त गराएर एउटा सुन्दर सहकार्यको सुरुवात गर्नैपर्छ।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया