काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणसँगै दायर गरिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

उक्त रिटमाथि न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुने तय गरिएको छ।

advertisement

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछाने विरुद्ध विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी प्रकरणसँगै जोडिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा संशोधन गर्न सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्।

सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

पुस ३० गते महान्यायाधिवक्ता भण्डारीले सदर गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’मा लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै अघि बढाउने र सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणका आरोप हटाउन सम्बन्धित सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको थियो।

उक्त निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा अभियोग पत्र संशोधनका लागि निवेदन दर्ता गरिए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसमा हालसम्म सुनुवाइ हुन सकेको छैन।

तर महान्यायाधिवक्ता कार्यालयको निर्देशनका बाबजुद काठमाडौँ र पर्सा जिल्लाका सरकारी वकिल कार्यालयहरूले भने लामिछानेसहितको अभियोग पत्र संशोधनका लागि सम्बन्धित जिल्ला अदालतमा अहिलेसम्म निवेदन दर्ता गरेका छैनन्।

याे पनि :

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com