एजेन्सी । उत्तर कोरियाले इरानमा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको निर्णयको सम्मान गरेको छ।
साथै, इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणलाई अवैध भन्दै कडा शब्दमा निन्दा गरेको छ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार विदेश मन्त्रालयका एक प्रवक्ताले इरानी जनताले आफ्नो सर्वोच्च नेता चयन गर्ने अधिकारलाई प्योङयाङले सम्मान गर्ने बताएका छन्।
मोज्तबा खामेनी पूर्व सर्वोच्च नेता अली खामेनीका माइला छोरा हुन्।
अली खामेनी गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणमा मारिएका थिए। त्यसपछि इरानका विशेषज्ञ सभाले मोज्तबा खामेनीलाई इस्लामिक क्रान्तिको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको घोषणा गरेको थियो।
उत्तर कोरियाले उक्त निर्णयको सम्मान व्यक्त गर्दै अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणले क्षेत्रीय शान्ति र सुरक्षामा नकारात्मक असर गरेको आरोप लगाएको छ।
विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘अमेरिका र इजरायलले इरानमाथि गरेको अवैध आक्रमणले क्षेत्रीय शान्ति र अन्तर्राष्ट्रिय स्थिरतालाई कमजोर पारेको छ, जसको हामी कडा निन्दा गर्छौं।’
उनले कुनै पनि देशको राजनीतिक प्रणाली र भौगोलिक अखण्डतामाथि हुने आक्रमण अस्वीकार्य भएको भन्दै विश्व समुदायले यसको विरोध गर्नुपर्ने पनि बताए।
यसअघि पनि उत्तर कोरियाले इरानमाथि अमेरिका–इजरायलको आक्रमणलाई गुण्डागर्दी शैलीको व्यवहार भन्दै आलोचना गरेको थियो।
साथै, केसीएनएले जनाएको छ कि उत्तर कोरियाका नेता किम जोङ उनले देशको नयाँ र सबैभन्दा ठूलो नौसैनिक विध्वंसक जहाज ‘चोए ह्योन’ बाट रणनीतिक क्रुज मिसाइल परीक्षणको अनुगमन गरेका छन्।
उनले परीक्षणको क्रममा शक्तिशाली र भरपर्दो परमाणु प्रतिरोध क्षमता कायम राख्नु र विस्तार गर्नु आवश्यक रहेको बताएका थिए।
गत हप्ता पनि किमले आफ्ना नौसैनिक बललाई परमाणु हतियारले सुसज्जित बनाउने योजना बारे चर्चा गरेका थिए।
अमेरिकाले लामो समयदेखि उत्तर कोरियाको परमाणु कार्यक्रम अन्त्य गर्न खोज्दै आएको भए पनि प्योङयाङले यसलाई बाह्य आक्रमणबाट जोगिन आवश्यक प्रतिरोधी क्षमता भएको बताउँदै आएको छ।
हालै अमेरिकी प्रशासनले उत्तर कोरियासँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्न तयार रहेको संकेत दिएको छ। किम जोङ उनले वासिङ्टनले उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न राष्ट्रका रूपमा स्वीकार गरे दुई देशबीच सम्बन्ध सुधार हुन सक्ने पनि बताएका छन्।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया