काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापा को राजीनामा माग गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रियसभा सदस्यहरूको परिचयात्मक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले सभापति गगनकुमार थापा ले आफ्नो पदबाट राजीनामा दिनुपर्ने स्पष्ट संकेत गरेका हुन्। उनले पार्टीले विशेष महाधिवेशनको कारण निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको उल्लेख गर्दै, अब त्यस्तो महाधिवेशनको औचित्य समाप्त भइसकेको तर्क गरे।
बस्नेतले भने, ‘जनताले दिएको म्यान्डेट स्वीकार्य छ। त्यसअनुसार काम गर्नुपर्छ। तर विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको छ।’
उनले पार्टीमा विशेष महाधिवेशनमार्फत सेटिङ गरेर कब्जा भएको आरोपसमेत लगाए। ‘विशेष महाधिवेशनमार्फत पार्टी कब्जा गरिएको छ। निर्वाचन आयोगसँगको सेटिङअनुसार पार्टी कब्जा भएको हो,’ बस्नेतले भने।
यसअघि सभापति गगनकुमार थापाले पनि पार्टीले जनताबाट प्राप्त म्यान्डेट अनुसार अघि बढ्ने र निर्वाचनको परिणामलाई स्वीकार्ने बताएका थिए।
बस्नेतको यस मागसँगै कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको दबाब अझ प्रष्ट देखिएको छ।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया