काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँग भइरहेको युद्ध छिट्टै अन्त्य हुने बताएका छन्।
‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको अमेरिका–इजरायल संयुक्त सैन्य अभियान सुरु भएको १२औँ दिनमा एक्सियोससँग करिब पाँच मिनेटको टेलिफोन संवादका क्रममा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्। उक्त अभियानले इरानको मिसाइल क्षमता र नौसैनिक शक्ति कमजोर बनाउने तथा उसले आणविक हतियार विकास गर्ने सम्भावित मार्ग बन्द गर्ने लक्ष्य राखेको बताइएको छ।
“म जुनसुकै बेला यो युद्ध अन्त्य गर्न चाहन्छु, र यो छिट्टै अन्त्य हुनेछ,” ट्रम्पले भने।
एक्समा सार्वजनिक गरिएको एक भिडियोमा अमेरिकी केन्द्रीय कमान्डका प्रमुख एडमिरल ब्राड कूपरले फेब्रुअरी २८ देखि तेहरानविरुद्ध सुरु गरिएको अभियानअन्तर्गत इरानका पाँच हजार ५०० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जानकारी दिए। तीमध्ये ६० भन्दा बढी जहाज पनि रहेको उनले बताए।
अन्तर्वार्ताका क्रममा ट्रम्पले युद्ध राम्रोसँग अघि बढिरहेको दाबी गरेका छन्। “हामी समय तालिकाभन्दा निकै अगाडि छौँ। सुरुमा अनुमान गरिएको ६ हप्ताभन्दा कम समयमै अपेक्षाभन्दा धेरै क्षति पुर्याएका छौँ,” उनले भने।
राष्ट्रपति ट्रम्पले इरानले विगत ४७ वर्षदेखि गरेको मृत्यु र विनाशको मूल्य अहिले चुकाइरहेको टिप्पणी पनि गरे। “यो त्यसको भुक्तानी हो। उनीहरू यसबाट सजिलै उम्कन सक्ने छैनन्,” उनले भने।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया