एजेन्सी । भारतको जम्मु–कस्मिरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लामाथि बुधबार एक विवाह समारोहका क्रममा गोली प्रहार भएको छ। जम्मुमा आयोजित विवाह भोजमा सहभागी भइरहेका ८८ वर्षीय अब्दुल्लालाई लक्षित गर्दै ६३ वर्षीय कमल सिंह जमवालले नजिकैबाट गोली चलाएका थिए। तर गोली निशाना चुक्दा अब्दुल्ला बालबाल बचेका छन्।

घटनाका अनुसार ‘जेड प्लस’ सुरक्षा घेराभित्रै रहेका अब्दुल्लासम्म आक्रमणकारी पुग्न सफल भएका थिए। उनले नजिकबाट गोली चलाए पनि लक्ष्यमा नलागेपछि घटनास्थलमा खटिएका नेशनल सेक्युरिटी गार्ड (एनएसजी) का कमाण्डोहरूले तुरुन्तै उनलाई नियन्त्रणमा लिएका थिए।

advertisement

प्रहरी नियन्त्रणमा रहेका आक्रमणकारी जमवालले प्रारम्भिक बयानमा आफूलाई उक्त घटनाप्रति कुनै पछुतो नभएको बताएका छन्। उनले यो क्षणको लागि करिब २० वर्षदेखि प्रतीक्षा गरिरहेको दाबी गर्दै व्यक्तिगत उद्देश्यका कारण गोली प्रहार गरेको बताएका छन्। अब्दुल्ला बच्न सफल भएकोमा आफू सन्तुष्ट नभएको अभिव्यक्ति समेत उनले दिएका छन्।

प्रहरीका अनुसार जमवालले लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरेर गोली चलाएका थिए। प्रत्यक्षदर्शीहरूले उनी आफूलाई कुनै ‘जागरण मञ्च’ को अध्यक्ष भनेर चिनाउने व्यक्ति भएको बताएका छन्। उनी जम्मु क्षेत्रमा रहेका तीन वटा सटर भाडामा दिएर जीविकोपार्जन गर्दै आएको जानकारी समेत प्राप्त भएको छ।

घटनापछि जम्मु–कस्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाले आफ्ना पिताको ज्यान जोगिएकोमा भगवानप्रति आभार व्यक्त गर्दै सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले ‘जेड प्लस’ सुरक्षा घेरामा रहेका व्यक्तिसम्म हतियारसहित आक्रमणकारी कसरी पुग्न सके भन्ने विषय अत्यन्त रहस्यमय भएको बताएका छन्।

उनले सुरक्षाकर्मीले समयमै हस्तक्षेप नगरेको भए ठूलो दुर्घटना हुन सक्ने उल्लेख गरेका छन्। घटनाको समयमा अब्दुल्लासँगै जम्मु–कस्मिरका उपमुख्यमन्त्री सुरिन्दर चौधरी र मुख्यमन्त्रीका सल्लाहकार नासिर सोगामी पनि उपस्थित थिए।

प्रहरीले आक्रमणकारीबाट प्रयोग गरिएको पेस्तोल बरामद गरिसकेको छ। घटना सुरक्षा कमजोरीका कारण भएको हो वा यसको पछाडि अन्य कुनै योजनाबद्ध षड्यन्त्र रहेको छ भन्ने विषयमा विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com