काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले नेपाललाई हिन्दुराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार भए आफ्नो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाह नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने बताएका छन्। संसद्मा दुईतिहाइ बहुमत पुर्याउन नयाँ सरकारलाई दुई सिट अपुग रहेको उल्लेख गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘रास्वपा र बालेन शाह नेतृत्वको नयाँ सरकारलाई संसद्मा दुईतिहाइ बहुमतका लागि दुई सिट कम छ। यदि सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दुराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच सांसदहरूको पूर्ण सहयोग रहनेछ।’
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कमल थापा काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए। तर सो निर्वाचनमा उनले अपेक्षित समर्थन पाउन सकेनन् र पराजित भएका थिए।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले ३० हजार ७३७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत पाएका थिए भने नेकपा एमालेका नेता ईश्वर पोखरेल ४ हजार ७०१ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए।
राप्रपाको चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका कमल थापाले भने १ हजार ९२२ मत मात्र प्राप्त गरेका थिए। कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेपछि कानुनअनुसार उनको जमानत जफत भएको थियो।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया