काठमाडौं । नेकपा (एमाले) ले भर्खरै सम्पन्न आम निर्वाचन-२०८२ को नतिजा आफ्नो पार्टीका लागि सुखद नरहेको स्वीकार गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको परिणामबारे समीक्षा कार्य सुरु भइसकेको बताएका छन्।
एमाले महासचिव शंकर पोखरेलले उक्त क्षेत्रगत अध्ययनको प्रक्रिया पूरा भएपछि निर्वाचनको समग्र समीक्षा गरिने बताए।
खराब नतिजापछि पार्टीभित्र अन्तरविरोध बढाउने प्रयास भइरहेकोतर्फ महासचिव पोखरेलले नेता–कार्यकर्तालाई सचेत समेत गराए।
पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही सञ्चारमाध्यमबाट नेताहरूको नाम जोडेर ‘मिडिया ट्रायल’ भइरहेको भन्दै उनले त्यस्ता भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरे।
एमालेले विगतमा पनि गम्भीर संकट र चुनौतीहरूको दृढतापूर्वक सामना गरेर यहाँसम्म आइपुगेको स्मरण गर्दै पोखरेलले अहिलेको परिस्थितिलाई पनि चिरेर पार्टी थप मजबुत हुने दाबी गरेका छन्।
उनले नेता तथा कार्यकर्तालाई जनतासँगको सम्बन्ध र विश्वास पुनःस्थापित गर्नेतर्फ विशेष जोड दिन निर्देशन दिएका छन्। एकताबद्ध भएर काम गरेमा पार्टी अवश्य सफल हुने उनले बताए।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया