एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी कुनै न कुनै रूपमा जीवित रहेको विश्वास व्यक्त गरेका छन् । डोनाल्ड ट्रम्प को यो प्रतिक्रिया इरानी सरकारी टेलिभिजनमा प्रसारित एक सन्देशपछि आएको हो । जहाँ खामेनीले इरानले होर्मुज जलडमरु बन्द गर्ने विकल्प अझै प्रयोग गर्न सक्ने बताएका थिए ।
यसैबिच अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानमाथि अमेरिकाले कडा सैन्य कारबाही गरिरहेको बताएका छन् । उनले भने– ‘उनीहरूले धेरै कुरा गरिरहेका छन् । अब उनीहरूले त्यसको परिणाम देख्नुपर्नेछ । हामी उनीहरूलाई कमजोर बनाइरहेका छौँ ।’
अमेरिकाले इरानमाथि दोस्रो विश्वयुद्धपछि कसैमाथि नपरेको जस्तो कडा प्रहार गरिरहेको पनि भनेका थिए । इरानले होर्मुज जलडमरू नाका बन्द गर्न सक्ने सङ्केत दिएपछि विश्व तेल बजारमा तनाव बढेको छ । हाल उक्त जलमार्गमा तेल ट्याङ्करहरूमा आक्रमण भएको र केही जहाज अलपत्र परेको रिपोर्ट आएका छन् ।
आपूर्ति अवरोधको चिन्ताबिच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १०० डलर प्रति ब्यारेल आसपास पुगेको छ ।
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया