काठमाडौं । रुकुम पश्चिममा पाँच दिनदेखि बेपत्ता १२ वर्षीया सपना वलीको अवस्था अझै अज्ञात रहेको छ।
बाफीकोट गाउँपालिका–३ की १४ वर्षीया कल्पना वली र उनकी १२ वर्षीया बहिनी उर्मिला वलीको शव भने फागुन २६ गते बिहान सानी भेरी नदीमा फेला परेको थियो। उनीहरू सहोदर दिदीबहिनी हुन्।
प्रहरीका अनुसार सोमबार साँझ नदी तर्ने क्रममा सपना, कल्पना र उर्मिला तीनै जना बगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार उनीहरू मुसिकोट नगरपालिका–१ मा आफन्तको विवाहमा जान भन्दै घरबाट निस्किएका थिए।
मंगलबार बिहान कल्पना र उर्मिलाको शव बाफीकोट गाउँपालिका–३ स्थित सानी भेरी नदीमा करिब पाँच सय मिटरको दूरीमा फेला परेको थियो।
बेपत्ता सपना वलीको भने आफन्त, स्थानीयवासी र प्रहरीले निरन्तर खोजी गरिरहे पनि अहिलेसम्म फेला पर्न सकेको छैन।
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया