एजेन्सी । दक्षिण लेबनानमा शुक्रबार राति भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ। आक्रमणका क्रममा संयुक्त राष्ट्रसंघको अन्तरिम शान्ति सेना (युनिफिल) अन्तर्गत रहेको नेपाली बटालियनको परिसरभित्र पनि गोला खसेको जनाइएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपतकालीन सञ्चालन केन्द्रका अनुसार इजरायली आक्रमण इस्लामिक स्वास्थ्य प्राधिकरण र इस्लामिक रिसाला स्काउट्सले सञ्चालन गरेको संयुक्त आपतकालीन सेवा केन्द्रलाई लक्षित गरेर गरिएको थियो। उक्त घटनामा दुई जना उद्धारकर्मीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
त्यस्तै नाबातिएह क्षेत्रमा इजरायली युद्धविमानले अल–राहिबात क्षेत्रमा रहेको एक घरमा बमबारी गर्दा एक बालिकासहित छ जनाको ज्यान गएको लेबनानको सरकारी समाचार एजेन्सीले जनाएको छ। दक्षिणी सीमावर्ती सहर बिन्त जबेलमा भएको अर्को हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ।
उता तटीय सहर गाजिएहमा एक भवनमा गरिएको हवाई आक्रमणमा दुई बालबालिकाको ज्यान गएको बताइएको छ।
यसैबीच राष्ट्रिय समाचार एजेन्सीका अनुसार दक्षिणी सीमावर्ती गाउँ मेस अल–जबालस्थित युनिफिलको नेपाली बटालियनको परिसरभित्र पनि इजरायली गोलाबारी भएको थियो। बेरुतस्थित नेपालको मानार्थ महावाणिज्य दूतावासले उक्त घटनाको कडा शब्दमा निन्दा गरेको छ।
दूतावासले जारी गरेको विज्ञप्तिमा आक्रमणका क्रममा कुनै पनि नेपाली शान्ति सैनिक घाइते नभएको जानकारी दिइएको छ। साथै संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा रहेका सैनिकहरूको स्थानलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघका कर्मचारीको सुरक्षासम्बन्धी सिद्धान्तहरूको गम्भीर उल्लंघन भएको उल्लेख गरिएको छ।
उता हिजबुल्लाहले इजरायलविरुद्ध प्रतिशोधात्मक कारबाही गरेको दाबी गरेको छ। समूहका अनुसार लेबनानी सीमावर्ती गाउँ मारकाबाको विपरित क्षेत्र वादी हुनिनमा रहेका इजरायली सैनिक र सवारी साधनहरूलाई लक्षित गरी रकेट प्रहार गरिएको थियो। साथै दक्षिण लेबनानमा हालै स्थापना गरिएको ब्लाट सैन्य चौकीमा पनि आक्रमण गरिएको जनाएको छ।
हिजबुल्लाहले इजरायलको सफेद सहरको पूर्वतर्फ रहेको गिभा ड्रोन नियन्त्रण केन्द्रलाई निशाना बनाएको तथा मेटुला क्षेत्रमा इजरायली सैनिकको जमघटमा दिनमै तेस्रो पटक रकेट प्रहार गरिएको दाबी गरेको छ।
त्यसै राति इजरायलले बेरुतको दक्षिणी उपनगरहरूमा पुनः हवाई आक्रमणको नयाँ श्रृंखला सुरु गरेको छ। उक्त क्षेत्र हिजबुल्लाहको मुख्य प्रभाव क्षेत्र मानिन्छ। यस घटनाले सीमापार जारी द्वन्द्व थप चर्किएको संकेत दिएको छ।
यस क्रममा इजरायली ड्रोनहरूले बेरुतका केही स्थानमा पर्चा खसाल्दै स्थानीय बासिन्दालाई हिजबुल्लाहविरुद्ध उक्साउने सन्देशसमेत फैलाएको बताइएको छ।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया