काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीका तीन दर्जनभन्दा बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन्।
सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा गएको नेताहरूको टोलीले शनिबार सभापति थापालाई भेटेर वर्तमान परिस्थितिमा नेतृत्व नछोड्न आग्रह गरेको हो।
भेटका क्रममा नेताहरूले मुलुक, संविधान र पार्टीसमेत विभिन्न चुनौतीको सामना गरिरहेको अवस्थामा थापाको नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए। रसाइलीका अनुसार उनीहरूले आगामी १५औँ महाधिवेशनसम्म पार्टीलाई स्पष्ट दिशा दिन तथा संगठनलाई सुदृढ बनाउन थापाले नेतृत्व निरन्तरता दिनुपर्ने बताएका छन्।
नेताहरूले संसदीय व्यवस्थामा निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया भएको पनि स्मरण गराएका छन्। मतदाताले कहिलेकाहीँ परिस्थितिका कारण आफ्नो मत र धारणा परिवर्तन गर्न सक्ने भएकाले त्यसलाई असामान्य रूपमा लिन नहुने उनीहरूको भनाइ रहेको रसाइलीले बताए।
सभापति गगनकुमार थापालाई भेट्न केन्द्रीय सदस्यहरू जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, बिष्णु पाण्डे, सीता मिजारलगायत करिब तीन दर्जन नेताहरू पुगेका थिए।
गत २१ फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर परिणाम पाएपछि कांग्रेसभित्र सभापति थापाले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने आवाज उठ्न थालेका छन्। यसअघि थापाले उपसभापति विश्वप्रकाश शर्मा सँगको भेटमा आफूले राजीनामाबारे सोचिरहेको संकेत दिएका थिए।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया