काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा पछिल्लो २४ घण्टामा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
काठमाडौँ महानगरपालिका–६ नयाँबस्तीस्थित नागेश्वर गल्ली नजिकैको खाली जग्गामा अन्दाजी ५५ वर्षीय पुरुष मृत भेटिएका छन्। ती पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन।
यस्तै कालीकोटको नरहरिनाथ गाउँपालिका–२ स्थित मझिउन खोलाको किनारामा अन्दाजी २३ वर्षीय युवक मृत फेला परेका छन् भने सल्यानको कुमाख गाउँपालिका–५ ठूलाखोलास्थित खोल्सामा अर्का एक अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको छ। यी तीनै जनाको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङ बस्ने ३३ वर्षीय तिर्थे भन्ने मिलन लामा आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्। उता पर्साको छिपहरमाई गाउँपालिका–२ चरगाहामा ८० वर्षीया पार्वती देवी स्थानीय पोखरीमा मृत फेला परेकी छिन्।
त्यस्तै प्युठानको सरुमारानी गाउँपालिका–३ जामुनेका ६४ वर्षीय लिल बहादुर खाम्चा राप्ती नदीमा मृत फेला परेका छन्। उनी सोही गाउँपालिकाको खारस्थित नदी किनारमा भेटिएका हुन्।
सबै ६ जना व्यक्ति मृत घटनाका सम्बन्धमा स्थानीय प्रहरीले कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणका लागि अस्पताल पठाएको छ र मृत्युको कारणबारे थप अनुसन्धान अगाडि बढाएको छ।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया