काठमाडौं । धनुषा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किसोरी साह को उम्मेदवारी खारेजसम्बन्धी विवादमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ।
यो मुद्दाको पेसी न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा तोकिएको छ। यसअघि शुक्रबार सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीले आफूले उक्त मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइबाट अलगिएकी थिइन्।
सुरुमा यो मुद्दा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा पहिलो नम्बरमा राखिएको थियो।
निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको कारण देखाउँदै फागुन १९ गते साहको उम्मेदवारी खारेज गरेको थियो। त्यस निर्णयविरुद्ध किसोरी साह को सर्वोच्च अदालत पुगेका हुन्।
यसैबीच उनले कालोसूचीबाट आफ्नो नाम हटाउन माग गर्दै अर्को रिट पनि दायर गरेका थिए। कर्जा सूचना केन्द्रले उनलाई कालोसूचीबाट हटाइएको जानकारी गराएपछि बिहीबार न्यायाधीश सुवेदीको इजलासले उनको नाम कालोसूचीबाट हटाउन आदेश दिएको थियो।
अब सर्वोच्च अदालतले उम्मेदवारी खारेजको निर्णयबारे अन्तिम फैसला गर्न बाँकी छ। आयोगले उम्मेदवारी खारेज गरे पनि साहले पाएका मत भने गणनामा समावेश गरिएको छ। मत परिणामअनुसार उनी सबैभन्दा बढी मत ल्याउने उम्मेदवार रहेका छन्।
यता, निर्वाचन आयोगले भने अदालतको अन्तिम आदेशपछि निर्णय लागू हुने भन्दै नेकपा उम्मेदवार मातृका यादवलाई धनुषा- १ बाट विजयी घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिसकेको छ।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया