काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रक्रिया अघि बढ्दै जाँदा प्रमुख राजनीतिक दलहरू भित्र नेतृत्वलाई लिएर बहस चर्किन थालेको छ।

समानुपातिकतर्फका सांसद चयनका लागि निर्वाचन आयोग नेपाल ले दिएको समयसीमा आज सकिँदै गर्दा दलहरू बन्दसूचीअनुसार नाम पठाउने तयारीमा जुटेका छन्।

advertisement

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भने शनिबार नै समानुपातिकतर्फका  सांसद उम्मेदवारहरूको नाम टुंगो लगाइसकेको जनाएको छ।

आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरी राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाएपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने छ।

तर चुनावी परिणामपछि पुराना दलभित्र असन्तुष्टि बढ्न थालेको छ। विशेषगरी एमालेभित्र कमजोर नतिजाको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओली माथि दबाब बढिरहेको छ।

पार्टीका केही नेताहरूले ओलीले नैतिक जिम्मेवारीस्वरूप पद त्याग गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखिरहेका छन्।

नेतृत्व परिवर्तनको पक्षमा आवाज उठाउनेमध्ये उपमहासचिव योगेश भट्टराई अग्रपंक्तिमा छन्। उनले चुनावी हारको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै ओलीले पद छाड्नुपर्ने संकेत गरेका छन्। तर ओली निकट नेताहरू भने उनको बचाउमा उभिएका छन्।

विशेषगरी महासचिव शंकर पोखरेल अध्यक्ष ओलीको पक्षमा देखिएका छन्। ओलीले निर्वाचनमा हार भएको स्वीकार गरे पनि राजीनामा दिने कुनै संकेत दिएका छैनन्।

यस निर्वाचनमा ओली बालेन्द्र शाह सँग प्रतिस्पर्धा गर्दै पराजित भएका थिए। उनले शाहलाई विजयी भएकोमा बधाईसमेत दिएका छन्।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेका अधिकांश शीर्ष नेताहरू प्रत्यक्षतर्फ पराजित भएका थिए।

अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट र पृथ्वी सुब्बा गुरुङ, सचिव महेश बस्नेत लगायतका नेता पराजित भएका हुन्।

यद्यपि एमालेले समानुपातिकतर्फ केही नेताहरूलाई संसदमा पठाउने निर्णय गरेको छ।  समानुपातिक सूचीबाट उपाध्यक्ष रामबहादुर थापा, गुरु बराल तथा सचिव पद्मा अर्याल चयन भएका छन्।प्रत्यक्षतर्फ एमालेले जम्मा ९ सिट जितेको छ भने समानुपातिकतर्फ १६ सिट प्राप्त गरेको छ।

कमजोर चुनावी प्रदर्शनपछि पार्टीभित्र अध्यक्ष ओली र महासचिव पोखरेलको भूमिकामाथि आलोचना बढ्दै गएको बताइएको छ।यसैबीच उपाध्यक्ष विष्णु पौडेलले पनि चुनावी हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने अभिव्यक्ति दिएका छन्।

त्यसका कारण एमालेभित्र अहिले अध्यक्ष ओलीमाथि आन्तरिक दबाब बढ्दै गएको देखिन्छ।यद्यपि ओली पारिवारिक शोकमा रहेका कारण राजीनामाको माग केही समयका लागि मत्थर भएको बताइएको छ।

उनका पिता मोहनप्रसाद ओली को शुक्रबार निधन भएको थियो।उता सरकारले कार्की आयोग को प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि उठिरहेको छ।

उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक तथा पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ लगायतमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरिएको बताइएको छ।

यसरी पार्टीभित्रैबाट आलोचना र बाह्य दबाब बढिरहेका बेला आगामी दिनमा नयाँ सरकारको कदमले ओलीको राजनीतिक भविष्यमा कस्तो प्रभाव पार्ने हो भन्ने प्रश्न पनि उठ्न थालेको छ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com