काठमाडौं। इरान ले मध्यपूर्वका विभिन्न देशतर्फ रातभर ड्रोन र मिसाइल आक्रमण गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ।

प्रभावित देशहरूले भने आफ्ना हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेर अधिकांश आक्रमणलाई निष्क्रिय पारिएको बताएका छन्।

advertisement

साउदी अरेबिया को रक्षा मन्त्रालयका अनुसार इरानबाट आएको २६ वटा ड्रोन देशको आकाशमा प्रवेश गरेपछि ती सबैलाई अवरोध गरेर खसालिएको छ।

तीमध्ये धेरैजसो ड्रोन राजधानी रियाद र देशको पूर्वी क्षेत्रमाथि नष्ट गरिएको जनाइएको छ।

यसैबीच संयुक्त अरब इमिरेट्स ले आइतबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय बनाउँदै इरानबाट आएका मिसाइल र ड्रोनलाई रोक्ने प्रयास भइरहेको जानकारी दिएको छ।

यूएईको सरकारी मिडिया कार्यालयले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत जानकारी दिँदै दुबई मरिना र अल सुफूह क्षेत्रमा सुनिएको ठूलो आवाज हवाई प्रतिरक्षा प्रणालीले गरेको सफल अवरोधका कारण भएको जनाएको छ।

यसअघि शनिबार ड्रोन आक्रमणपछि यूएईको पूर्वी तटमा रहेको फुजैराह बन्दरगाह क्षेत्रमा आगलागी भएको खबर आएको थियो।

फुजैराह बन्दरगाह यूएईको प्रमुख तेल निर्यात केन्द्रमध्ये एक मानिन्छ।

त्यस्तै बहराइन ले पनि आफ्नो देशभर सायरन बजाइएको र नागरिकलाई नजिकैका सुरक्षित आश्रयस्थलमा जान आग्रह गरिएको जनाएको छ।

यसैगरी कुवेत ले पछिल्लो २४ घण्टामा आफ्नो कुवेत नेशनल गार्ड ले इरानका पाँच वटा ड्रोन खसालेको जनाएको छ।

यसअघि शनिबार राति कतार ले पनि विज्ञप्ति जारी गर्दै दिनभर भएका मिसाइल तथा ड्रोन आक्रमणलाई सफलतापूर्वक विफल पारिएको जनाएको थियो।

तर पछिल्ला आक्रमणबारे कतारले थप विवरण सार्वजनिक गरेको छैन।

लगातार भइरहेका यस्ता आक्रमण र प्रतिआक्रमणका घटनाले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था झन् जटिल बन्दै गएको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com