काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्राप्त ५७ सिटका लागि निर्वाचित हुने उम्मेदवारहरूको नामावली निर्वाचन आयोगमा पेस गरेको छ।
पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायबाट प्रतिनिधित्व सुनिश्चित गर्दै उम्मेदवारको सूची आयोगमा बुझाएको जनाएको छ।
रास्वपाले खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायलाई समेट्दै ५७ जनाको नाम सिफारिस गरेको हो।
समावेशी व्यवस्थाअनुसार खस आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जना उम्मेदवार समावेश गरिएको पार्टीले जनाएको छ।
सूचीमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन्। प्रत्यक्ष निर्वाचनमा पुरुष उम्मेदवारको संख्या बढी निर्वाचित भएपछि संवैधानिक व्यवस्थाअनुसार कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न रास्वपाले समानुपातिकतर्फ महिलाको संख्या उल्लेख्य रूपमा बढाएको हो।
खस आर्यतर्फ बन्दसूचीको पहिलो नम्बरमा रहेका रमेश प्रसाईं सिफारिसमा परेका छन्। तर दोस्रो नम्बरमा रहेका सुदीप ढकाल र तेस्रो नम्बरमा रहेका प्रमोद न्यौपाने भने अन्तिम सूचीमा परेनन्।
दलित कोटातर्फ पनि पुरुषतर्फ प्रकाशचन्द्र परियार सिफारिस हुँदा सूचीको दोस्रो नम्बरमा रहेका गायक प्रकाश सपुत र रुपक घिमिरे भने समेटिन सकेनन्। दलित महिलातर्फ भने रीमा विश्वकर्मालगायतका उम्मेदवार सिफारिसमा परेका छन्।
पार्टीको आइतबार बसेको सचिवालय बैठकले यसअघि तयार गरिएको बन्दसूचीबाटै समावेशी क्लस्टरअनुसार उम्मेदवार छनोट गरी आयोगमा पठाउने निर्णय गरेको थियो। सूचीमा महिलाको उल्लेख्य सहभागिता रहेको र केही क्लस्टरबाट पुरुष उम्मेदवार पनि समावेश गरिएको रास्वपाले जनाएको छ।
रास्वपाले पेस गरेको सूचीअनुसार खस आर्य, आदिवासी जनजाति, मधेसी र दलित समुदायबाट महिलाको प्रतिनिधित्व बढी देखिएको छ भने थारु र मुस्लिम समुदायबाट पनि समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
निर्वाचन आयोगले कानुनी प्रक्रिया पूरा भएपछि सोही नामावलीका आधारमा प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूको अन्तिम घोषणा गर्ने तयारी गरेको जनाएको छ।
रास्वपाले सिफारिस गरेका समानुपातिक उम्मेदवार
खस आर्य (१६ महिला, १ पुरुष)
प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल, रमेश प्रसाईं।
आदिवासी जनजाति (१३ महिला, ३ पुरुष)
बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुन्नीमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा।
मधेसी (६ महिला, ३ पुरुष)
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुरुषोत्तम सुप्रभात यादव, खगेन्द्र कर्ण।
दलित (७ महिला, १ पुरुष)
रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा, खिमा विक।
थारु (२ महिला, २ पुरुष)
गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी।
मुस्लिम (३ महिला)
समिना मिया, अफ्साना बानु, गलाजा शमीम मिकरानी।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया