काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दायर सहकारी ठगीसँग सम्बन्धित मुद्दामा थप गरिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउने निर्णयविरुद्ध परेको रिटमाथि आज (सोमबार) सुनुवाइ हुने भएको छ। उक्त रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ।
सर्वोच्च अदालतमा न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यस विषयमा सुनुवाइ हुन लागेको हो।
यसअघि सविता भण्डारी नेतृत्वको महान्यायाधिवक्ता कार्यालय ले लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगीसम्बन्धी मुद्दामा संशोधन गर्न सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको थियो। उक्त निर्देशनअनुसार सहकारी ठगीबाहेक सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउन पहल गरिएको थियो।
भण्डारीले पुस ३० गते सदर गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’मार्फत लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा मात्रै अघि बढाउने र अन्य दुई गम्भीर प्रकृतिका अभियोग हटाउने व्यवस्था गर्न भनिएको थियो।
तर उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफल ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन दर्ता गरिएको भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसमा सुनुवाइ अघि बढ्न सकेको छैन।
यद्यपि उक्त निर्देशनका आधारमा काठमाडौँ र पर्सा का सरकारी वकिल कार्यालयहरूले भने हालसम्म अभियोगपत्र संशोधनका लागि सम्बन्धित जिल्ला अदालतमा निवेदन दर्ता नगरेको जनाइएको छ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार













प्रतिक्रिया