एजेन्सी । डोनाल्ड ट्रम्प नेतृत्वको संयुक्त राज्य अमेरिका सरकारले हर्मुज जलडमरु क्षेत्रमा जहाजहरूको सुरक्षा सुनिश्चित गर्न सहयोगी राष्ट्रहरूलाई संयुक्त रूपमा अघि बढ्न आग्रह गरे पनि जापान र अस्ट्रेलिया ले तत्काल त्यहाँ नौसैनिक जहाज पठाउने योजना नरहेको स्पष्ट पारेका छन्।
सोमबार टोकियो मा प्रतिक्रिया दिँदै जापानकी प्रधानमन्त्री सानाय ताकाइची नेतृत्वको सरकारले मध्यपूर्व क्षेत्रमा सैन्य जहाज पठाउनेबारे कुनै निर्णय नभएको जनाएको हो।
यस्तै, अस्ट्रेलियाले पनि अहिलेसम्म आफूलाई त्यससम्बन्धी औपचारिक अनुरोध नआएको बताउँदै तत्कालका लागि नौसैनिक सहयोग नपठाउने संकेत दिएको छ।
इजरायल र इरान बीचको तनावपूर्ण युद्ध तेस्रो सातामा प्रवेश गरेसँगै मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ। यसको असर अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत देखिन थालेको छ।
विश्वको करिब २० प्रतिशत ऊर्जा आपूर्ति यही मार्ग हुँदै आवतजावत गर्ने भएकाले हर्मुज जलडमरु अवरुद्ध हुनसक्ने आशंका बढेपछि ट्रम्पले तेलमा निर्भर मुलुकहरूले यस मार्गको सुरक्षा सुनिश्चित गर्न सक्रिय भूमिका खेल्नुपर्ने बताएका हुन्।
आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायत लगायतका राष्ट्रहरूले जलडमरुको सुरक्षामा सहभागिता जनाउनुपर्ने बताएका थिए। उनका अनुसार अमेरिकाले यस विषयमा सात देशसँग सम्पर्क गरिसकेको छ, तर ती देशहरूको नाम सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्री ताकाइचीले भने जापानको युद्ध त्याग्ने संवैधानिक व्यवस्था कारण विदेशमा सैन्य जहाज पठाउने विषय निकै संवेदनशील रहेको उल्लेख गरिन्। ‘हामीले जहाज पठाउनेबारे अहिलेसम्म कुनै निर्णय गरेका छैनौँ। कानुनी प्रावधानभित्र रहेर जापानले के–कस्तो भूमिका खेल्न सक्छ भन्नेबारे अध्ययन भइरहेको छ,’ उनले संसदमा भनिन्।
अस्ट्रेलियातर्फ पनि एन्थोनी अल्बानिज नेतृत्वको सरकारकी मन्त्री क्याथरिन किंग ले अमेरिकाबाट यस्तो आग्रह औपचारिक रूपमा नआएको बताउँदै तत्काल जहाज पठाउने योजना नरहेको जानकारी दिइन्।
यसैबीच ट्रम्पले चीनमाथि पनि दबाब बढाउने संकेत दिएका छन्। उनले यस महिनाको अन्त्यमा बेइजिङ मा हुने चिनियाँ राष्ट्रपति सी जिनपिङ सँगको सम्भावित भेटअघि चीनले जलडमरु खुला राख्न सहयोग नगरे आफ्नो भ्रमण स्थगित हुनसक्ने चेतावनी दिएका छन्।
उता युरोपेली सङ्घ का विदेशमन्त्रीहरूले पनि सोमबार मध्यपूर्वमा सञ्चालनमा रहेको सानो नौसैनिक मिसनलाई सुदृढ बनाउने विषयमा छलफल गर्ने तयारी गरेका छन्। तर हर्मुज जलडमरुमा प्रत्यक्ष सुरक्षा विस्तार गर्ने निर्णय भने तत्काल हुने सम्भावना कम रहेको कूटनीतिक स्रोतहरूले जनाएका छन्।
यसै क्रममा बेलायती प्रधानमन्त्री किर स्टार्मर ले ट्रम्प र क्यानडा का प्रधानमन्त्री मार्क कार्नी सँग जलडमरु पुनः सुरक्षित रूपमा सञ्चालनमा ल्याउने विषयमा छलफल गरेको बताइएको छ। साथै दक्षिण कोरियाले पनि अमेरिकी प्रस्तावबारे सावधानीपूर्वक समीक्षा गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार












प्रतिक्रिया