काठमाडौं । जनमत पार्टी का अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। तर उनले आफू राजनीतिक संघर्ष र जनताका मुद्दाका लागि सक्रिय रूपमा काम गरिरहने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले संसदीय पदको राजनीतिबाट टाढा रहने तर राजनीतिक आन्दोलन र वैचारिक अभियानलाई निरन्तरता दिने स्पष्ट पारे। उनले लेखेका छन्, ‘म संसदीय राजनीतिबाट सन्यास लिने निर्णयमा पुगेको छु, तर यसको अर्थ राजनीतिबाट पूर्ण रूपमा अलग हुनु होइन। जनताको अधिकार र मुद्दाका लागि संघर्ष जारी रहनेछ।’
उनका अनुसार आफू पार्टीलाई आवश्यक परेसम्म नेतृत्व दिँदै संगठनलाई सुदृढ बनाउने र आगामी निर्वाचनका लागि तयारीमा जुट्नेछन्।
२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दलका रूपमा उदाएको थियो। उक्त निर्वाचनमा राउत आफैं प्रत्यक्षतर्फ विजयी भएका थिए भने समानुपातिक प्रणालीमार्फत पनि पार्टीले पाँच सिट प्राप्त गरेको थियो।
तर २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने पार्टीले उल्लेखनीय सफलता हासिल गर्न सकेन। प्रत्यक्ष र समानुपातिक दुवै तर्फ जनमत पार्टीले कुनै सिट जित्न सकेन। सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गरेका राउत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार रामजी यादव सँग पराजित भएका थिए।
राउतले अब आफू संसदीय पदको राजनीतिमा सहभागी नहुने तर पार्टी संगठनलाई सुदृढ बनाउँदै आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि तयारीमा लाग्ने बताएका छन्। ‘जनमत पार्टीलाई आगामी निर्वाचनका लागि सक्षम र व्यवस्थित बनाउने मेरो प्राथमिकता रहनेछ,’ उनले लेखेका छन्।
उनले आफू सधैँ जनताको बीचमै रहने, विभिन्न आन्दोलन र संघर्षका मोर्चामा सक्रिय रहने तथा अधिकार र पहिचानका सवालमा निरन्तर भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
यसैबीच राउतले आफू इच्छा विपरीत पार्टी अध्यक्ष बनेको दाबी पनि गरेका छन्। उनका अनुसार सरकारले आफ्ना गतिविधिमा अवरोध सिर्जना गरेपछि नयाँ राजनीतिक विकल्पको रूपमा पार्टी गठन गर्नुपरेको थियो।
राउतले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार पार्टीको अध्यक्ष बनाउनका लागि उनले नरेन्द्र प्रसाद चौधरी लगायतका नेताहरूलाई जनकपुर मा बोलाएर नेतृत्व सम्हाल्न आग्रह गरेका थिए। तर उनीहरूले अस्वीकार गरेपछि अन्ततः आफैं अध्यक्ष बन्नुपरेको उनको भनाइ छ।
उनले आफ्नो व्यक्तिगत चाहनाविपरीत दुई पटक संसदीय निर्वाचनमा उम्मेदवारी दिएको पनि बताएका छन्। २०७९ को निर्वाचनमा विजयी भएका राउत यसपटक भने पराजित भएका हुन्।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार












प्रतिक्रिया