काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ सांसद चयनका लागि दलहरूले निर्वाचन आयोगमा बुझाएको सूचीमा फेरि नातावाद हावी भएको देखिएको छ । विभिन्न दलका प्रभावशाली नेताका परिवारका सदस्य तथा नातेदारलाई समानुपातिक सांसद बनाउन सिफारिस गरिएको भन्दै सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा व्यापक आलोचना भइरहेको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले पाएको सिट संख्या तथा क्लस्टर मिलाएर सूची बुझाउन पत्राचार गरेको थियो ।
आयोगको निर्देशनअनुसार ६ दलले आइतबारसम्म सूची बुझाइसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४/४ जना सांसद पाउने भएका छन् ।
यी सिटमा क्लस्टर मिलाएर सिफारिस गर्दा चारवटा दलले नेताका परिवार र नातेदारलाई प्राथमिकता दिएको देखिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सूचीमा परिवारका सदस्यलाई स्थान दिएका छन् ।
कांग्रेसमा ससुरा, श्रीमतीदेखि भाञ्जीसम्म
नेपाली कांग्रेसको खस आर्य पुरुष क्लस्टरबाट सांसद सिफारिस भएका अर्जुननरसिंह केसी पार्टी सभापति गगन थापाका ससुरा हुन् ।
७८ वर्षीय केसी पटक–पटक सांसद तथा मन्त्री भइसकेका छन् ।
उनी समकालीन राजनीतिमा सबैभन्दा बढी चुनाव लडेका नेतामध्ये एक हुन् ।
केसीले २०३८ सालमा राष्ट्रिय पञ्चायत निर्वाचन जितेर राज्यमन्त्री भएका थिए ।
२०४८, २०५१, २०७० र २०७९ मा नुवाकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
यसपटक ज्वाइँ सभापति बन्दा समानुपातिकबाट सांसद बन्ने भएपछि उनको नाममा नातावादको आलोचना चुलिएको छ ।
कांग्रेसकै मधेसी क्लस्टरबाट सांसद सिफारिस भएका डा. चन्द्रमोहन यादव गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुन् ।
उनी यसअघि प्रत्यक्ष निर्वाचन जितेर सांसद भइसकेका छन् ।
खस आर्य महिलातर्फ सांसद सिफारिस भएकी रीना उप्रेती कांग्रेस नेता बलबहादुर केसीकी श्रीमती हुन् ।
उनी पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनकी पूर्वसभापति हुन् ।
मधेसी कोटाबाट सांसद सिफारिस भएकी निनुकुमारी कर्ण कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीकी भाञ्जी हुन् ।
उनी महिला संघको राजनीतिबाट आएकी हुन् ।
एमाले, नेकपा र राप्रपामा पनि नातावाद
नेकपा एमालेले जनजाति क्लस्टरबाट सांसद बनाएकी भूमिका सुब्बा एमाले नेता वसन्त नेम्वाङकी श्रीमती हुन् ।
सुब्बा जनसांस्कृतिक महासंघकी अध्यक्ष हुन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट खस आर्य क्लस्टरमा सांसद सिफारिस भएकी बलावती शर्मा नेता देवेन्द्र पौडेलकी श्रीमती हुन् ।
शर्मा पूर्वविधायक हुन् ।
उनले २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य भएर काम गरेकी थिइन् ।
पौडेल पूर्वशिक्षामन्त्री हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामालाई आदिवासी जनजाति महिला क्लस्टरबाट सांसद सिफारिस गरेको छ ।
तामाङ तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा गृहमन्त्री तथा प्रजातन्त्रकालमा पटक–पटक मन्त्री र सांसद भइसकेका छन् ।
आयोगको भूमिका
दलहरूले बुझाएको समानुपातिक सूचीलाई निर्वाचन आयोगले क्लस्टर संख्या मिले/नमिलेको जाँच गर्नेछ ।
यदि क्लस्टर नमिलेको पाइए आयोगले सच्याउन निर्देशन दिन सक्छ ।
सूची प्रमाणित भएपछि मात्र दलहरूले सांसदलाई प्रमाणपत्र दिनेछन् ।
यो सूचीले फेरि राजनीतिक दलहरूमा नातावाद र परिवारवाद हावी भएको देखाएको छ ।
विगतका निर्वाचनमा पनि समानुपातिक सांसद चयनमा नेताका परिवारलाई प्राथमिकता दिइने गरेको थियो ।
यसपटक पनि त्यही प्रवृत्ति दोहोरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार













प्रतिक्रिया