काठमाडौं। नेपाली कांग्रेसका पूर्व उपसभापति धनराज गुरुङ ले फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ को घटनाको दोस्रो ‘एपिसोड’ भएको टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामो अभिव्यक्ति सार्वजनिक गर्दै गुरुङले आफूले यो कुरा पहिल्यैदेखि भन्दै आएको उल्लेख गरेका छन्।

advertisement

उनले लेखेका छन्, भाद्र २३–२४ को घटनापछिको कांग्रेसको पहिलो कार्यसम्पादन समितिको बैठकमा मैले भनेको थिएँ– यो पहिलो एपिसोड हो, दोस्रो एपिसोड बाँकी छ। जुनसुकै रूपमा दोस्रो एपिसोड आउन सक्छ, त्यसको सामना गर्न तयार रहनुपर्छ।

त्यसपछि पनि आफूले यो विषय औपचारिक तथा अनौपचारिक बैठकहरूमा बारम्बार उठाउँदै आएको उनले बताएका छन्। तर पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताहरूले त्यसलाई गम्भीर रूपमा नलिएको उनको भनाइ छ।

कतिपय नेताहरूले बुझ्नै चाहेनन्, कतिपय नेताहरूको पदको महत्त्वाकाङ्क्षाले थिचिएको मानसपटलले बुझ्न सकेन, उनले उल्लेख गरेका छन्।

गुरुङका अनुसार आफूले भनेझैँ दोस्रो एपिसोड फागुन २१ को निर्वाचनका रूपमा आएको हो। “धेरैलाई थाहै भएन कि यो भाद्र २३–२४ को दोस्रो एपिसोड हो। सायद थाहा पाउँदासम्म ढिला भइसकेको हुन सक्छ, उनले लेखेका छन्।

उनले केही नेताहरूले ‘चुनाव लडौँ कि कसो गरौँ?’ भनेर सोध्दा आफूले नलड्न सुझाव दिएको पनि बताएका छन्। “किनकि यो भाद्र २३–२४ को दोस्रो एपिसोड हो भन्ने कुरामा म दुबिधामा थिइनँ,” उनले भनेका छन्।

यद्यपि आफूसँग सल्लाह लिएर पनि चुनाव लड्ने कतिपय नेताहरू पराजित भएको उल्लेख गर्दै गुरुङले अब पछुताउनुको कुनै अर्थ नरहेको बताएका छन्।

“राजनीतिमा विभिन्न घटनाक्रम देखापर्नु स्वाभाविक हो। तर सम्भावित घटनाको आकलन गर्न नसक्नु नेतृत्वको अदूरदर्शिता हो,” उनले लेखेका छन्, अझ भाद्र २३–२४ को दोस्रो एपिसोड आउँछ भनेर बैठकहरूमा पटक–पटक भन्दा पनि त्यसबारे अनभिज्ञता प्रदर्शन गर्नु मूर्खताको पराकाष्ठा हो।

गुरुङले चुनावको समयमा कांग्रेसले आफ्नै घरमा आगो लगाएको जस्तो अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्। “हामी आफैँ कांग्रेसको घर जलाएर आगो ताप्न थाल्यौँ, यी यावत कारणहरू नै पार्टीको शर्मनाक हारका कारण बने,” उनले लेखेका छन्।

बिपी कोइरालाको अनुयायी भन्ने नेताहरूले फागुन २१ को निर्वाचनमा भएको हारको जिम्मेवारी लिन तयार नदेखिएको भन्दै उनले व्यंग्यसमेत गरेका छन्।

“सामाजिक सञ्जालका भित्ताहरू रङ्गाएर लाज छोपिँदैन। लाज हरायो भन्दैमा बाटोमा निर्वस्त्र हिँड्नु हुँदैन, किनकि देख्नेलाई लाज हुन्छ,” उनले लेखेका छन्।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com