काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई बहाना बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको हुन सक्ने भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई सचेत गराएको छ। विभागले यस्ता गतिविधिबारे कुनै जानकारी भएमा तुरुन्तै निःशुल्क टेलिफोन नम्बर ११३७ मा फोन गरेर सूचना दिन सबैसँग आग्रह गरेको छ।
हालका दिनमा ग्यासमा कालोबजारी बढेको, अत्यधिक परिमाणमा लुकाएर राखिएको तथा बढी मूल्यमा बिक्री वितरण गरिएको गुनासो आएपछि विभागले सर्वसाधारणलाई उक्त नम्बरमा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको हो।
नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्ने व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव भने कायमै रहेको छ। विभागले अनुचित व्यापारिक गतिविधि सञ्चालन गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिएको छ।
देशभरका जुनसुकै स्थानबाट सम्पर्क गर्न सकिने गरी विभागले निःशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याएको जनाएको छ। पछिल्ला दिनमा विभागले विभिन्न स्थानमा स्थलगत अनुगमन र निरीक्षणलाई पनि तीव्र बनाएको छ। अनुगमनका क्रममा कैफियत भेटिएमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ।
ग्यासको माग उच्च रहेको अवस्थालाई ध्यानमा राख्दै आपूर्ति प्रणालीलाई सहज बनाउन र कृत्रिम अभाव तथा अन्य गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न विभाग सक्रिय रहेको जनाएको छ। साथै, सबै ग्यास उत्पादक उद्योग र वितरकलाई कानुनअनुसार मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न तथा कुनै पनि गैरकानुनी गतिविधि नगर्न सचेत गराइएको छ।
सोमबार मात्रै विभागले ग्यास लुकाइएको पाइएपछि श्रीराम ग्यास उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको थियो। ललितपुरको हरिसिद्धिमा रहेको उक्त उद्योगको गोदाममा लुकाएर राखिएका १४ दशमलव दुई किलोग्राम तौलका ६ हजार ३७७ वटा ग्यास सिलिण्डर फेला परेको विभागले जनाएको छ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया