सुर्खेत। गुर्भाकोटकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको प्रकरणमा पक्राउ परेका अभियुक्तहरूको बयान सकिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका चार जना नाबालकहरूको बयान सकिएको र अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये एक १६ वर्षीय किशोरले दुई वर्षदेखि इनिशासँग प्रेम सम्बन्ध रहेको बयान दिएका छन् ।
उनले आफूहरूबीच शारीरिक सम्बन्ध भएको र रक्तस्राव भएपछि इनिशा बेहोस भएको बताएका छन् ।
“इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,” अभियुक्तको बयान उद्धृत गर्दै
प्रहरी अधिकृतले भने, “आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थलमा आएका हुन् ।”
सिसिटिभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षीय किशोर मात्रै गएको देखिएको छ ।
बयान सत्य हो वा झूटो भन्ने पुष्टि गर्न नेपालगञ्जबाट पोलिग्राफ (लार डिटेक्सन) टोली सुर्खेत आइपुगेको छ ।
पोलिग्राफ परीक्षणबाट अभियुक्तहरूले सही बोले/नबोलेको वैज्ञानिक रूपमा पत्ता लाग्ने प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाले घटनाको अनुसन्धान विभिन्न कोणबाट भइरहेको र
अब फरेन्सिक रिपोर्ट आउन बाँकी रहेको जानकारी दिएका छन् ।
“अभियुक्तहरूको बयान सकियो । फरेन्सिक रिपोर्टहरू आउन बाँकी छ । रिपोर्ट आएपछि अनुसन्धान निष्कर्षमा पुग्छ,” उनले भने ।
उनले अनुसन्धानमा कुनै कमी नरहने गरी सूक्ष्म र वैज्ञानिक तरिकाले काम भइरहेको पनि बताए ।
घटनाको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फागुन २३ गते बिहान घरबाट निस्किएकी इनिशाको शव सोही दिन शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएको थियो ।
घटनास्थलमा उनको रक्ताम्य शव, लुछिएको कपाल, मडारिएको घाँस, एकातिर जुत्ता र अर्कोतिर मोजा परेको अवस्था देखिएको थियो ।
इनिशाको परिवार तथा आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीहरूलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै आएका छन् ।
उनीहरूले न्याय नभएसम्म शान्त नबस्ने अडान लिएका छन् ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा प्रेमी भनिएका १६ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ ।
थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि वीरेन्द्रनगर पुगेर प्रमाण संकलन गरिरहेको छ ।
वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा आइतबार बिहान प्रयोगात्मक परीक्षाका लागि भनेर घरबाट निस्किएकी थिइन् ।
तर उनी नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो ।
केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै “तपाईंकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस छिन्” भन्ने जानकारी आएपछि परिवारले घटनास्थल पुगेका थिए ।
घटनाले सुर्खेतमा त्रास तथा चासो बढाएको छ ।
पीडित परिवारले दोषीहरूमाथि कडा कारबाहीको माग गर्दै आएका छन् ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार











प्रतिक्रिया