एजेन्सी । अमेरिकाले आफ्नो नागरिकता त्याग्न चाहने व्यक्तिहरूका लागि लाग्ने शुल्कमा ठूलो कटौती गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सङ्घीय रजिस्टरमा प्रकाशित अन्तिम नियममार्फत उक्त शुल्क २ हजार ३५० डलरबाट घटाएर ४५० डलर कायम गरिएको घोषणा गरेको हो।
यो नयाँ शुल्क तत्काल लागू भइसकेको छ। यद्यपि, यससम्बन्धी निर्णय सन् २०२३ मै गरिएको भए पनि कार्यान्वयनमा ढिलाइ भएको थियो। अहिले लागू गरिएको शुल्क सन् २०१० मा पहिलो पटक निर्धारण गरिएको स्तरकै बराबर हो।
अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया जटिल, लामो र संवेदनशील मानिन्छ। यस क्रममा आवेदकले विदेश मन्त्रालयका कन्सुलर अधिकृतसमक्ष पटक–पटक लिखित र मौखिक रूपमा आफ्नो निर्णयका असरबारे पूर्ण जानकारी भएको पुष्टि गर्नुपर्छ। त्यसपछि मात्र औपचारिक रूपमा नागरिकता त्याग गर्ने शपथ लिन अनुमति दिइन्छ, जसलाई अन्तिम रूपमा मन्त्रालयले स्वीकृति दिन्छ।
यसअघि सन् २०१५ मा प्रशासनिक खर्च बढेको कारण देखाउँदै शुल्क ४५० डलरबाट बढाएर २ हजार ३५० डलर पुर्याइएको थियो। सो समय विशेषगरी विदेशमा बसोबास गर्ने अमेरिकीहरूबीच नागरिकता त्याग गर्ने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको थियो। नयाँ कर प्रतिवेदनसम्बन्धी कडा नियमहरूका कारण धेरैले असन्तुष्टि जनाउँदै नागरिकता त्याग्ने निर्णय गरेका थिए।
उच्च शुल्कको विभिन्न अधिकारवादी समूहहरूले लामो समयदेखि विरोध गर्दै आएका थिए। विशेषगरी फ्रान्समा आधारित ‘एसोसिएसन अफ एक्सिडेन्टल अमेरिकन्स’ ले उक्त शुल्क असंवैधानिक भएको दाबी गर्दै मुद्दा दायर गरेको छ। यस संस्थाले अमेरिकामा जन्मिए पनि जीवनको अधिकांश समय विदेशमा बिताएका र अनिच्छित रूपमा अमेरिकी नागरिकता पाएका व्यक्तिहरूको प्रतिनिधित्व गर्छ। हाल उक्त मुद्दा अदालतमा विचाराधीन छ, जसमा नागरिकता त्याग गर्दा कुनै शुल्क नै नलिनुपर्ने माग गरिएको छ।
विश्लेषकहरूका अनुसार शुल्कमा गरिएको कटौतीले नागरिकता त्याग प्रक्रिया केही सहज बनाउनेछ, विशेषगरी विदेशमा बसोबास गर्ने अमेरिकीहरूका लागि यो राहतको रूपमा हेरिएको छ। तथापि, नागरिकता त्याग्नु गम्भीर र दीर्घकालीन प्रभाव पार्ने निर्णय भएकाले यसले व्यक्तिको कानुनी अवस्था, कर प्रणाली र अन्तर्राष्ट्रिय आवागमनमा समेत असर पार्ने बताइन्छ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार











प्रतिक्रिया