एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्चको अन्त्यमा तय गरिएको चीन भ्रमण एक महिना वा सोभन्दा बढी समयका लागि सार्ने योजना बनाएका छन्।
सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानसँग जारी युद्धका कारण भ्रमण स्थगित गर्न प्रस्ताव गरिएको बताए। ‘हामीले यसलाई एक महिना वा सोभन्दा बढी समयका लागि सार्न अनुरोध गरेका छौं,’उनले भने, ‘युद्धको अवस्थालाई नजिकबाट नियाल्नु अहिले आवश्यक छ।’
ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता मार्च ३१ देखि अप्रिल २ सम्म हुने तय गरिएको थियो। गत वर्ष अक्टोबरमा भएको उनीहरूको अन्तिम प्रत्यक्ष भेटपछि हुन लागेको यो बैठकलाई महत्वपूर्ण मानिएको थियो।
तर इरानसँगको युद्धले अमेरिकाको अन्य विदेश नीति प्राथमिकताहरूलाई प्रभावित पारेको छ। बढ्दो द्वन्द्वका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउने जोखिम बढेको छ, जसले अमेरिकी बजारमा मूल्य वृद्धि हुने चिन्ता पनि थपिएको छ।
राष्ट्रपति ट्रम्पले युद्ध व्यवस्थापनलाई प्राथमिकता दिन आफू वासिङ्टनमै रहन चाहेको बताएका छन्। ‘म उहाँसँग भेट्न उत्सुक छु, हाम्रो सम्बन्ध निकै राम्रो छ,’ उनले सी जिनपिङतर्फ संकेत गर्दै भने, ‘तर अहिले हामी युद्धको अवस्थाबाट गुज्रिरहेका छौं, त्यसैले यहाँ रहनु आवश्यक छ।’
अमेरिकी कोष सचिव स्कट बेसेन्टले पनि खाडी क्षेत्रमा देखिएको संवेदनशील अवस्थाका कारण ट्रम्प तत्काल बेइजिङ जान नसक्ने बताए। ‘राष्ट्रपति युद्धसम्बन्धी प्रयासको समन्वय गर्न वासिङ्टनमै रहन चाहनुहुन्छ, यस्तो समयमा विदेश भ्रमण उपयुक्त नहुन सक्छ,’ उनले भने।
यसअघि ट्रम्पले एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा चीनले हर्मुज जलमार्गमा ऊर्जा ढुवानी अवरोध हुन नदिन सहयोग नगरे बैठक स्थगित हुन सक्ने चेतावनी दिएका थिए। त्यसको भोलिपल्ट नै उनले भ्रमण सार्ने प्रस्ताव गरेका हुन्।
उनले अन्य देशहरूलाई पनि उक्त जलमार्गमार्फत जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सहयोग गर्न आह्वान गरेका छन्। इरानसँगको युद्धका कारण विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच तनाव बढ्दै गएको सन्दर्भमा ट्रम्पको यो निर्णय आएको हो।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया