काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनताले दिएको अभूतपूर्व जनमतलाई जोगाउनु पार्टीको प्रमुख जिम्मेवारी भएको बताएका छन्।

ललितपुरमा नवनिर्वाचित सांसदहरूको लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै डा. वाग्लेले भने, ‘जनताले हामीलाई विकास र सुशासनका लागि स्पष्ट म्यान्डेट दिएका छन्। अब जनताको अपेक्षाबाट भाग्ने छुट हाम्रो पार्टीलाई छैन।’

advertisement

उहाँले यसपटकको निर्वाचन परिणामलाई नेपालको लोकतान्त्रिक इतिहासकै सबैभन्दा बलियो र वैध जनादेशको रूपमा वर्णन गरे। उनले २०१५ सालको पहिलो आम निर्वाचनसँग तुलना गर्दै रास्वपाले पाएको जनमत अझ ठूलो भएको तथ्याङ्क प्रस्तुत गरे। २०१५ मा नेपाली कांग्रेसले दुईतिहाइ सिट जिते पनि लोकप्रिय मत केवल ३८ प्रतिशत रहेको थियो भने यसपटक रास्वपाले १८२ सिट र ५१ लाखभन्दा बढी मतसहित करिब ४८ प्रतिशत लोकप्रिय मत हासिल गरेको उनले बताए। डा. वाग्लेले यसलाई नेपालको राजनीतिक इतिहासमा ‘अभूतपूर्व जनादेश’को रूपमा व्याख्या गरे।

उहाँले सांसदहरूलाई विगतका सरकारहरूको अस्थिरता र कमजोरीबाट सिक्न पनि आग्रह गरे। २०४८ सालमा नेपाली कांग्रेसको बहुमत सरकार आन्तरिक विवादले ढलेको, २०६४ सालमा माओवादी सरकार ९ महिना पनि टिक्न नसकेको र २०७४ सालको नेकपाको बलियो बहुमत तीन वर्षमै टुटेको उदाहरण दिँदै उनले विगतका गल्ती दोहोर्‍याउन नहुने चेतावनी दिए।

डा. वाग्लेले रास्वपाले स्थिरता र सुशासनमा ध्यान दिनुपर्नेमा जोड दिँदै सांसदहरूलाई सुझाव दिए – पारदर्शी जीवनशैली अपनाउने, जथाभावी अभिव्यक्ति नदिने, जनताको समस्या र गुनासो प्राथमिकतामा राख्ने, र संसद्मा प्रभावकारी भूमिका खेल्न संविधान र कानुनको गहिरो अध्ययन गर्ने।

उनले यसपटकको जनादेशलाई नेपालको लोकतान्त्रिक यात्रामा गहिरो र महत्त्वपूर्ण क्षणका रूपमा वर्णन गर्दै सबै जनप्रतिनिधिलाई गम्भीर जिम्मेवारीबोधका साथ काम गर्न आह्वान गरे।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com