काठमाडौं। मध्यपूर्वमा इरान–अमेरिका–इजरायल द्वन्द्व तीव्र बन्दै गएपछि भारतले होर्मुज जलडमरू नजिक आफ्ना दुईवटा युद्धपोत तैनाथ गरेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार भारतीय नौसेनाको यो टास्क फोर्सले तेल तथा
ग्यास बोकेर भारततर्फ आउने व्यापारिक जहाज र ट्यांकरहरूको सुरक्षा गर्ने जिम्मेवारी पाएको छ ।
आवश्यक परेमा ती जहाजहरूलाई अन्य सहयोग पनि प्रदान गरिने बताइएको छ ।
होर्मुज जलडमरूबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा ठूलो मात्रामा प्राकृतिक ग्यास पारवहन हुन्छ ।
यो जलमार्ग बन्द वा असुरक्षित भएमा भारतको ऊर्जा आपूर्ति तथा समुद्री व्यापारमा ठूलो असर पर्ने भएकाले भारतले उच्च सतर्कता अपनाएको हो ।
मध्यपूर्वको जारी द्वन्द्वले होर्मुज स्ट्रेटमा जोखिम बढाएको छ ।
इरानले यस जलमार्ग बन्द गर्ने चेतावनी दिइसकेको छ भने हुथी विद्रोहीहरूले बब अल-मन्डेब स्ट्रेट पनि बन्द गर्ने धम्की दिएका छन् ।
यस्तो अवस्थामा भारतले आफ्नो ऊर्जा सुरक्षा तथा समुद्री मार्गको सुरक्षालाई प्राथमिकता दिएको छ ।
नेपालमा पनि यो घटनाको प्रत्यक्ष प्रभाव पर्न सक्छ ।
नेपालले ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य इन्धन भारतबाटै आयात गर्ने भएकाले होर्मुज मार्गमा कुनै अवरोध आएमा इन्धन अभाव तथा मूल्यवृद्धिको जोखिम बढ्नेछ ।
नेपाल आयल निगमले वैकल्पिक व्यवस्था तथा आपूर्ति सहज बनाउन तयारी गरिरहेको छ ।
परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूलाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न पटकपटक आग्रह गरिसकेको छ ।
यदि कुनै नेपालीलाई उद्धार वा सहयोग आवश्यक परेमा नजिकको नेपाली दूतावास वा परराष्ट्र मन्त्रालयको आपत्कालीन हटलाइनमा सम्पर्क गर्न सकिन्छ ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया