काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण देशमा महँगी चर्किन सक्ने भन्दै पेट्रोलियम पदार्थमा तत्काल सहुलियत दिन सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले पछिल्ला घटनाक्रमले नेपालमा दैनिक उपभोगका वस्तु तथा सेवाको मूल्यमा दबाब बढ्न थालेको उल्लेख गरे। ‘मोटरसाइकल चढ्नेबाट लिएर दुध किन्ने सर्वसाधारणसम्मको खर्च बढ्दै गएको छ,’ उनले भने, ‘पेट्रोलियम मूल्यवृद्धिलाई बहाना बनाएर बजारमा व्यापक महँगी हुने खतरा देखिएको छ।’

advertisement

उनका अनुसार यो समस्या केही समयसम्म जारी रहन सक्ने संकेत देखिएकाले सरकारले तत्काल हस्तक्षेप गर्न आवश्यक छ। ‘केही समयका लागि पेट्रोलियम पदार्थमा सहुलियत दिएर मूल्य स्थिर राख्नु अपरिहार्य छ,’ उनले जोड दिए।

महामन्त्री पौडेलले वैकल्पिक ऊर्जाको प्रयोग विस्तार गर्न पनि सरकारलाई आग्रह गरे। विशेषगरी भान्सामा प्रयोग हुने एलपी ग्यासको सट्टा इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न र विद्युतीय सवारीसाधनको उपयोग बढाउनुपर्ने उनको सुझाव छ। ‘वैकल्पिक ऊर्जामार्फत पेट्रोलियम पदार्थको खपत घटाउने सबै सम्भावना प्रयोगमा ल्याउनुपर्छ,’ उनले भने।

यससँगै उनले बजार अनुगमन प्रभावकारी बनाउन, कालोबजारी नियन्त्रण गर्न तथा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न सरकारसँग आग्रह गरे।

संभावित चुनौतीहरूलाई समयमै पहिचान गरी आवश्यक नीतिगत कदम चाल्न सके जनजीवनलाई सामान्य राख्न सकिने उनले विश्वास व्यक्त गरे। ‘अप्ठ्यारो परिस्थितिको पूर्वानुमान गर्दै जनजीवन सहज बनाउन ठोस कार्यक्रम लागू गर्न सरकारसँग मेरो आग्रह छ,’ उनले भने।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com