काठमाडौं। वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–३२ की ५५ वर्षीया मिना घिमिरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महिलालाई पक्राउ गरेको हो।
पक्राउ परेकी घिमिरेले पीडित युवालाई अष्ट्रेलियामा आकर्षक तलब हुने रोजगारी मिलाइदिने भन्दै विश्वासमा पारेकी थिइन्। उनले प्रक्रियाका लागि भन्दै पटक–पटक गरी कुल १२ लाख रुपैयाँ रकम असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
रकम बुझेपछि लामो समयसम्म न त विदेश पठाइन्, न त पीडितको सम्पर्कमा नै रहिन्। आफू ठगिएको महसुस गरेपछि पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले घिमिरेको खोजी सुरु गरेको थियो।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई चैत ३ गते काठमाडौं महानगरपालिका–१४ बाट नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (प्रहरी उपरीक्षक) मनोहर प्रसाद भट्टका अनुसार पक्राउ परेकी घिमिरेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
प्रहरीले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन र अपरिचित व्यक्तिलाई ठूलो रकम नबुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया