काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्व र कार्यशैलीको प्रशंसा गरेका छन्।

बुधबार बिहान प्रचण्डसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत शीर्ष नेताहरू प्रधानमन्त्री कार्कीको निमन्त्रणामा बालुवाटारस्थित सरकारी निवास पुगेका थिए। सो भेटमा प्रतिनिधिसभा निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल भएको थियो।

advertisement

प्रधानमन्त्री कार्कीले नेताहरूलाई निर्वाचन सफल बनाउन खेलेको भूमिकाका लागि धन्यवाद दिँदै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन सबैको योगदान महत्त्वपूर्ण रहेको बताइन्। उनले निर्वाचनमा विजयी भएका नेताहरूलाई बधाइ दिँदै अन्यलाई आगामी अवसरका लागि शुभकामना पनि व्यक्त गरिन्।

जवाफमा नेकपाका नेताहरूले कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई मुलुकले राजनीतिक निकास पाएको उल्लेख गर्दै उनको सराहना गरे।

संयोजक प्रचण्डले निर्वाचन नभएको भए देश गम्भीर संकटमा फस्ने खतरा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले देखाएको साहस, दृढता र मेहनतलाई प्रशंसनीय बताएका छन्। उनले आफ्नो पार्टी सुरुदेखि नै निर्वाचनको पक्षमा अडिग रहेको स्मरण पनि गराए।

पूर्वप्रधानमन्त्री नेपालले कार्की प्रधानमन्त्री बन्ने प्रक्रियाको स्मरण गर्दै त्यसबेला आफूहरूले ठूलो आशा राखेको बताए। उनले कार्कीको नेतृत्वले संविधान र व्यवस्थालाई सुरक्षित राख्ने विश्वास दिलाएको उल्लेख गरे।

उनका अनुसार जटिल र अस्तव्यस्त परिस्थितिका बीच छोटो समयमै निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको इमानदार छवि र दृढताका कारण सम्भव भएको हो।

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com