काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह पार्टीका सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी नहुने भएका छन्।
पार्टीका नेता तथा नवनिर्वाचित सांसद गणेश पराजुलीले स्वास्थ्य अवस्था असहज रहेकाले साह कार्यक्रममा सहभागी हुने निश्चित नभएको बताएका हुन्।
बुधबार कार्यक्रममा सहभागी भएका पराजुलीले पार्टी सभापति रवि लामिछाने भने केहीबेरमै अभिमुखीकरण कार्यक्रममा सहभागी हुने जानकारी दिए। लामिछानेको स्वास्थ्यमा सुधार आएकाले कार्यक्रममा सहभागी हुने सुनिश्चित भएको उनले बताए।
पराजुलीका अनुसार, सभापतिजी पनि केही अस्वस्थ हुनुहुन्थ्यो तर उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ। वरिष्ठ नेता बालेन साह को स्वास्थ्यमा पनि समस्या देखिएकाले उहाँ हिजोदेखि कार्यक्रममा उपस्थित हुन सक्नुभएको छैन। आज स्वास्थ्यमा सुधार भए सहभागी हुन सक्ने सम्भावना भने रहेको छ।
उनले वरिष्ठ नेताहरू कार्यक्रममा सहभागी हुनुपर्ने भन्ने प्रश्न स्वाभाविक रहेको उल्लेख गर्दै स्वास्थ्य अवस्थाका कारण अनुपस्थित भएको स्पष्ट पारे।
सांसद पराजुलीले मुलुकमा सुशासन स्थापित गर्न केन्द्रित भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार












प्रतिक्रिया