काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेपछि आफ्ना सांसदहरूलाई संसदीय अभ्यास र जिम्मेवारीबारे दुईदिने विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ले ललितपुरस्थित एक होटलमा आयोजित उक्त कार्यक्रम बुधबार सम्पन्न हुँदैछ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै पार्टीका नेता तथा सांसद गणेश पराजुलीले विशेषगरी नयाँ सांसदहरूलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिका, राष्ट्रिय प्रोटोकल तथा कानुन निर्माण प्रक्रियाबारे प्रशिक्षण दिइएको जानकारी दिए। उनका अनुसार सांसदहरूको जिम्मेवारी, सुशासन कायम गर्ने भूमिका, जनअपेक्षाअनुसार काम गर्ने तरिका तथा विकास निर्माणका विषयमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिएको हो।

advertisement

पराजुलीले भने, “सांसदहरूले संसदमा खेल्नुपर्ने भूमिका, कानुन निर्माण प्रक्रियामा उनीहरूको जिम्मेवारी, जनताप्रति उत्तरदायित्व र विकास निर्माणका कार्य कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेर दुईदिने कार्यशाला सञ्चालन गरिएको हो।”

यस्तै, सांसद सस्मित पोखरेलले पनि अभिमुखीकरण कार्यक्रम प्रभावकारी रहेको बताए। उनले कर्मचारीतन्त्रसँगको समन्वय, रोकिएका कानुनहरू अगाडि बढाउने उपाय तथा नीति निर्माणसम्बन्धी विषयमा भएको छलफल उपयोगी भएको उल्लेख गरे।

उनले भने, “संसदीय भूमिका, संसद सचिवालयको काम, नीति तथा कानुन निर्माणका विषयमा विज्ञहरूले प्रशिक्षण दिनुभएको छ। साथै, कर्मचारीतन्त्रसँगको सम्बन्ध र रोकिएका कानुनहरूको अवस्थाबारे पनि विस्तृत छलफल भएको छ।”

कार्यक्रमको उद्घाटन उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा घण्टी बजाएर गरेका थिए। प्रशिक्षण कार्यक्रममा विभिन्न क्षेत्रका विषयविज्ञहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com