काठमाडौ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा म्याग्दीबाट निर्वाचित सांसद महावीर पुन फेरि सडकमा पुस्तक बेच्न निस्किने भएका छन्। केही दिनअघि पोखराका सडकमा फुटपाथ व्यापारमा प्रतिबन्ध लागेको प्रसङ्ग उठाउँदै मेयर धनराज आचार्यले यस्तो नगर्न सुझाव दिएका थिए। तर जवाफमा पुनले भने कि “अहिले मेरो काम नभएकोले म फेरि किताब बेच्ने दैनिकीमा फर्किन लागेको छु।”
आफ्नो आत्मकथा बिक्री गर्दै देशभर दौडाहा गरिरहेका पुनलाई धेरैले सडकमा बसेर किताब नबेच्न र कानुनको विपरीत नहुन सुझाएका थिए। यसबारे फेसबुकमा जानकारी दिँदै उनले भने, “शपथ ग्रहण हुने मिति अझै निश्चित छैन। त्यसैले आज बिहान १० बजे नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु।”
निर्वाचित भएपनि केही दिन किताब बिक्री गरेका उनले हालसालै म्याग्दीका ६ वटै स्थानीय तह भ्रमण गरी जनप्रतिनिधि र स्थानीयसँग विकास तथा बजेटबारे छलफल गरिसकेका छन्। शपथ अझै नहुने देखेपछि फेरि किताब बेच्न निस्किएको उनले बताए। “अनि के गरेर बस्ने त नि मेयर साहब? गाह्रो पिरो नमान्नु होला,” पुनले थपे।
उनले आफ्नो आत्मकथा बिक्रीबाट आएको रकम वीरगन्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन खर्च गरिरहेको बताएका छन्।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया