काठमाडौं । नेपाली कांग्रेस कर्णालीबाट प्रत्यक्षतर्फ निर्वाचन जितेकी एकमात्र महिला सांसद हुन् बासना थापा ।
दैलेख क्षेत्र नं. १ मा उनी नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्मालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी हुन्। कांग्रेसकी थापाले १२ हजार ३ सय ७२ मत ल्याएर विजयी हुँदा एमालेका शर्मा ११ हजार ७ सय ९६ मतमा रोकिएका थिए।
नेकपा एमालेका रविन्द्रराज शर्मा र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का अम्मरबहादुर थापाजस्ता संसदीय राजनीतिमा अनुभवी उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दै बासना थापाले आफ्नो जित सुनिश्चित गरेकी हुन्।
कांग्रेसका लागि दैलेख–१ मा १२ वर्षपछि प्रत्यक्ष उम्मेदवार खडा गरी विजय प्राप्त गरेको हो। २०७४ र २०७९ को निर्वाचनमा यस क्षेत्रमा चुनावी तालमेलका कारण कांग्रेसले उम्मेदवारी दिएको थिएन। यसपटक ‘रूख’ चिह्नमै उम्मेदवार रहेपछि पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक उत्साही देखिएका थिए, जसले उत्साहलाई जितमा परिणत गरेका हुन् ।
संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएकी काङ्ग्रेस नेतृ थापाले पहिलाे पटकमा नै जित हासिल गरेकी हुन । उनी यसअघि २०७४ मा दैलेखको नारायण नगरपालिकाको उपमेयर पदमा उठेर पराजित भएकी थिइन्।
काठमाडौंमा जन्मेकी थापा विवाहपछि दैलेख गएकी थिइन्, उनी त्यहीं राजनीतिमा सक्रिय भएकी हुन् । २०५७ सालमा नेविसंघमा आबद्ध भएकी उनी नेपाली कांग्रेसमा सक्रिय भइन्। कांग्रेसको १२औं, १३औं र १४औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेकी थिइन् । २०७८ मंसिरमा १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उठेकी उनी पराजित भएकी थिइन्।
उनले गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा भएको विशेष महाधिवेशनमा भाग लिएर पार्टीभित्र रूपान्तरण र पुस्तान्तरण आवश्यक रहेको मानिन्।
राजनीतिक प्रेरणा उनलाई उनको हजुरबुवा नरबहादुर थापाबाट प्राप्त भएको थियो, जो २०१५ सालको निर्वाचनबाट सांसद रहेका थिए। उनले नेविसंघदेखि पार्टी राजनीतिसम्म समाजसेवा र राजनीतिक अनुभव सँगसँगै अघि बढाइन्।
थापाले संसदमा भ्रष्टाचार अन्त्य गरी पारदर्शी प्रशासन स्थापना गर्न सक्रिय भूमिका खेल्ने प्रतिज्ञा गरेकी छन्। साथै स्थानीयस्तरमा रोजगारी सिर्जना, महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने विशेष कार्यक्रम ल्याउने र जिल्ला तथा क्षेत्रको विकास निर्माणमा सहयोग गर्ने वचन दिएकी छन्।
उनले पेट्रोलियम उत्खनन्, पर्यटन प्रवर्द्धन, जलविद्युत् विकास र लगानीलाई प्राथमिकता दिँदै दैलेखलाई सडक सञ्जाल र पूर्वाधारमार्फत अघि बढाउने बताएकी छन् । जिल्ला अस्पताललाई १०० बेड क्षमतामा स्तरीकरण गर्ने पहल पनि उनले प्रतिज्ञा गरेकी छन्।
महिला र पुरुषको समान प्रतिनिधित्वमा जोड दिँदै बासना थापाले भनिन्, महिलालाई ३३ प्रतिशत मात्र होइन, ५० प्रतिशत प्रतिनिधित्व मिल्नुपर्छ। कर्णालीले प्रत्यक्षतर्फ महिलालाई जिताएर राम्रो सन्देश दिएको छ।
कांग्रेसले बासनासहित प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको छ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया